Odapalika - The Fourth Estate - चौथो अंग
कांग्रेस बैठकमा नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने प्रस्ताव 
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न माग गरेका छन् । करिब ९४ प्रतिशत ॐकार परिवार रहेको नेपालमा हिन्दु राष्ट्र अपरिहार्य भएको बताए । 

सानेपामा जारी कांग्रेस केन्द्रीय समिति बैठकमा आइतबार आफ्नो १५ बुँदे धारणा राख्दै केन्द्रीय सदस्य पराजुलीले करिब ९४ प्रतिशत ॐकार परिवार रहेको नेपाललाई परापूर्व कालदेखि चलिआएको वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न जोडदार माग गरेका हुन् । एकले अर्काको अस्तित्वलाई स्वीकार गरेर हाम्रा परम्परागत चलिआएका धर्म संस्कृतिको संरक्षण र सम्बर्धनमा ठोस कदम नचाल्ने हो भने देश अगाडि बढ्न नसक्ने उनको निष्कर्ष छ ।

‘करिब ९४ प्रतिशत ॐकार परिवार रहेको नेपाललाई परापूर्व कालदेखि चलि आएको वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न जोडदार माग गर्दछु। र यसको नेतृत्व नेपाली कांग्रेसले गरोस् भन्ने समेत प्रस्ताव राख्दछु,’ उनले भनेका छन् ।

bhim-parajuli-1723377033.jpgपराजुलीले बङ्गलादेशमा बसोबास गर्ने हिन्दू, बौद्धलगायत अल्पसंख्यकको जनधन, धर्म, कला संस्कृतिमाथि  भएको ज्यादती र आक्रमणको पनि घोर भर्त्सना गरे । साथै त्यहाँ बिचल्लीमा परेका नेपाली विद्यार्थी र अन्य नेपालीहरूलाई यथाशीघ्र सकुशल नेपाल फर्काउन पनि उनले माग राखेका छन् ।

नेता पराजुलीले संघीयता खर्चिलो प्रणालीको रुपमा विकसित हुँदै गएकोमा पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् । यसबाट सिर्जित निराशाले ०६२।६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धिहरू समानुपातिकता समावेशिताहरू समेत गुम्ने खतरा रहेको औंल्याए । 

उनले संविधानको मूल मर्म र भावनालाई कुठाराघात नहुनेगरी समानुपातिक र समावेशी प्रतिनिधित्व नघट्ने गरी राष्ट्रिय सभामा व्यवस्थापन गर्न, संघीय संसद र प्रदेश संसद तथा स्थानिय कार्यपालिकाको सीट संख्या घटाउन पनि प्रस्ताव गरे ।

नेपालको संविधानमा जिल्ला संरचना हटाई जिल्ला अन्तर्गत भइरहेका कामहरूलाई स्थानीय तहमा लगी खर्च कटौती गर्नेलगायतका कार्यहरूका माध्यमद्वारा सहज, सुलभ सेवा–सुविधा नागरिकको पहुँचमा पुर्‍याउन उनले सुझाव दिए । 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update