Odapalika - The Fourth Estate - चौथो अंग
व्यवस्थापनको बेवास्ताले बिएण्डबी र ब्लुक्रस हस्पिटललाई थपियो २० करोडको भार

काठमाडौँ । काठमाडौँ उपत्यकामा संचालित २ ठूला अस्पतालको व्यवस्थापनले नेपालको कानुनप्रति बेवास्था गरेका कारण करिब २० करोड रुपैयाँ दायित्व थपिएको छ ।

काठमाडौँमा संचालित ब्लुक्रस अस्पताल र ललितपुरमा संचालित बिएण्डबी अस्पताल व्यवस्थापनले नेपालको श्रम ऐनको अवज्ञा गर्दा सो परिमाणको आर्थिक भार थपिएको हो । 

नेपालको कानुन अनुसार अस्पतालमा कार्यरत कर्मचारीको हकमा श्रम ऐन आकर्षित हुन्छ । तर, यी दुबै अस्पतालले श्रम ऐन अनुसार कर्मचारीको लागि सामाजिक सुरक्षा कार्यक्रम संचालन नगरेका कारण आर्थिृक दायित्व थपिएको अस्पतालको कर्मचारी स्रोत बताउँछ ।

‘बिएण्डबी अस्पतालले श्रम ऐन अनुसार सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्नुपर्ने थियो । तर, अस्पताल व्यवस्थापनले कोषलाई नटेरी रकम जम्मा नगरेका कारण अहिले ठूलो आर्थिक भार व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ । कोषले १५ करोड ६८ रुपैयाँ बिगो कायम गर्दै पत्र पठाएको छ,’ बिएण्डबी अस्पताल स्रोतले वडापालिकासँग भन्यो ।

काठमाडौँको त्रिपुरेश्वरमा रहेको ब्लुक्रस अस्पतालले पनि श्रम ऐनको व्यवस्था अनुसार कर्मचारीको सामाजिक सुरक्षा कोषमा रकम जम्मा नगरिदिएको कारण कोषले ४ करोड ३१ लाख रुपैयाँ विगो कायम भएको छ ।

‘ब्लुक्रस हस्पिटलले सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरेको थिएन । श्रम ऐनको व्यवस्था अनुसार कानुनी प्रक्रिया पूरा नगरेपछि सामाजिक सुरक्षा कोषले ४ करोड ३१ लाख रुपैयाँ विगो कायम गरेर पत्र पठाएको छ,’ ब्लुक्रस हस्पिटल स्रोतले भन्यो ।

भएको के हो ?

श्रम ऐनको व्यवस्था अनुसार अस्पतालहरुले आफ्ना कर्मचारीको उपदान, संचयकोष तथा निवृत्तिभरण वापतको पैसा सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्छ । २०७६ साल साउन १ गतेदेखि सामाजिक सुरक्षा कोष ऐन कार्यान्वयनमा आएपछि अस्पताल क्षेत्रका कर्मचारीको यस्तो रकम पनि अनिवार्य रुपमा कोषमा नै जम्मा गरिदिनु पर्ने कानुनी व्यवस्था छ ।

तर, अस्पताल व्यवस्थापनले अहिलेसम्म पनि कर्मचारीको सो रकम कोषमा जम्मा गरिदिएको थिएन । सामाजिक सुरक्षा कोष ऐनको व्यवस्था अनुसार आफूले सुविधा नपाएको भन्दै यी दुबै अस्पतालमा कार्यरत कर्मचारीले उजुरी दिएपछि कोषले सो विषयमा व्यवस्थापनसँग सोधपुछ गरेको थियो । तर, कोषले औपचारिक रुपमा पत्र पठाएर जानकारी लिन खोज्दा पनि यी दुबै अस्पतालले पैसा जम्मा गरेनन् ।

कानुन अनुसार कोषमा रकम जम्मा नगरेपछि कोषले यी दुबै अस्पतालमा कार्यरत कर्मचारीको संख्या र नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिकका आधारमा विगो कायम गरेको हो । कोषले अहिले विगो मात्रै कायम गरेको छ । तर, सामाजिक सुरक्षा कोष ऐनको व्यवस्था अनुसार विगो बराबर जरिवाना पनि तिर्नु पर्ने अवस्था आएमा बिएण्डबी अस्पतालले करिब ३२ करोड र ब्लुक्रस अस्पतालले करिब साढे ८ करोड रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

अस्पतालहरुले सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा आएको समयदेखि नै कोषमा रकम जम्मा गरेको भए यसरी रकम तिर्नुपर्ने भने थिएन ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update