Odapalika - The Fourth Estate - चौथो अंग
किराना पसलदेखि ग्याँस डिपोसम्मलाई स्थानीय तहको निर्देशन– अनिवार्य रुपमा आगो निभाउने उपकरण राख्नू

काठमाडौँ । सप्तरीको छिन्नमस्ता गाउँपालिकाले आफ्नो क्षेत्रभित्र प्रज्ज्वलनशील पदार्थ बिक्री गर्ने सबैले अनिवार्य रुपमा आगो निभाउने उपकरण राख्न निर्देशन दिएको छ । 

आगलागीजन्य जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ग्याँस डिपो, ग्याँस सिलिन्डर बिक्री गर्ने डिलर तथा पसल, पेट्रोल पम्पजस्था प्रज्ज्वलनशील पदार्थ बिक्री गर्ने सबैले अनिवार्य अग्निनियन्त्रक राख्न निर्देशन दिएको छिन्नमस्ताका प्रमुख प्रशासकीय अधिकृत उज्जवल आनन्दले जानकारी दिए । 

‘हामीले प्रज्ज्वलनशील पदार्थ बिक्री गर्ने सबैलाई सबैले देख्नेगरी आगो निभाउने उपकरण राख्न निर्देशन दिएका हौँ,’ उनले वडापालिकासँग भने । 

छिन्नमस्तामा गाउँपालिकाभित्र एउटा पनि पेट्रोल पम्प भने नरहेको उनले जानकारी दिए । तर, ग्याँस डिपोदेखि पसल पसलमा खाना पकाउने एलपी ग्याँसका सिलिन्डर रहेकाले आगलागीजन्य विपद् न्यूनीकरण तथा जोखिम कम गर्न उक्त आगो निभाउने उपकरण राख्न निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत आनन्दले बताए । 

गाउँपालिकाले यसबारे गएको शुक्रबार नै सबै अधिकारिक तेल÷ग्यास विक्रेतालाई पत्राचार गरेर यसबारे जानकारी गराएको थियो । 

उक्त पत्रमा उल्लेख थियो, ‘...यस छिन्नमस्ता गाउँपालिका क्षेत्र भित्रका आधिकारिक तेल÷ग्यास÷प्रज्वलनशिल पदार्थको बिक्री वितरण गर्ने सेवादायक डिलर वितरकहरुले वितरण गर्ने स्थानमा अनिवार्य रुपमा सर्वसाधारण जनताको पहुँचमा रहने गरि सबैले हेर्ने स्थानमा विपद्को समयमा आगो नियन्त्रणको लागि प्रयोग गरिने Fire extinguisher (आगो नियन्त्रक) अनिवार्य राख्नु हुन्, अनुरोध छ ।’ 

chhinnamasta-1723442680.jpg
 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update