Odapalika - The Fourth Estate - चौथो अंग
अन्ततः धरानका मेयर साम्पाङ आफ्नो निर्णयबाट पछि हटे, मध्यराति ३ बुँदे सहमति 

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा देखिएको खानेपानी महसुल वृद्धिको विवाद सकिएको छ । मेयर संयोजक रहने खानेपानी बोर्डले साउन १ गतेदेखि लागु हुने गरी खानेपानीसहितमा महसुल वृद्धि गरिएपछि उपमेयर अइन्द्रविक्रम बेघासहित १० राजनीतिक दल र उपभोक्ता समिति आन्दोलित भएका थिए । 

आन्दोलन भइरहे पनि त्यसको प्रतिवाद गर्दै बसेका मेयर हर्क साम्पाङ आइतबार राति सहमतिमा आएर विवाद समाधान गरेका छन् । आफ्नो निर्णयबाट मेयर साम्पाङ पछि हटेसँगै तीन बुँदे सहमति गरेर विवाद समाधान गरिएको छ । 

मेयर साम्पाङले विवाद समाधानमा कसैको हार र जित नभएर सबैले जित्नेगरी सहमति भएको प्रतिक्रिया दिएका छन् । ‘वार्ता वीन वीन सिचुएसनमा सम्पन्न भएको छ,’ मेयर साम्पाङले भनेका छन् । 

सहमतिसँगै तीन सातादेखि आन्दोलनरत १० राजनीतिक दल र स्थानीय उपभोक्ताले आफ्ना आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् भने वार्तामा भएको सहमति सोमबार दिउँसो सार्वजनिक गर्ने तयारी गरिँदै छ । 

आइतबार दिउँसोबाट सुरु भई राति सकिएको वार्तामा तीनबुँदे सहमति भएको छ । वार्तामा खानेपानी महसुलमा गरिएको वृद्धि तत्काललाई फिर्ता लिने, खानेपानी बोर्डको पूर्णताबारे उच्च अदालतको फैसला मान्ने र सात दिनभित्र बोर्डको हिसाब सार्वजनिक गर्ने तीनबुँदे सहमति भएको हो । 

यी पनि 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update