Odapalika - The Fourth Estate - चौथो अंग
धनगढी उपमहानगरको ‘आमा बचाउ’ अभियान, २ वर्षमा ४५४ महिलाले लिए सेवा

कैलाली । जिल्लाको धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको ‘आमा बचाउ’ अभियान प्रभावकारी बनेको छ ।उपमहानगरले अघिल्लो आर्थिक वर्ष २०७९/८० को मंसिरबाट सुरु गरेको उक्त अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित भएका छन् ।

गर्भवती, प्रसव र सुत्केरी अवस्थाका महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने उद्देश्यले सञ्चालनमा ल्याइएको ‘आमा बचाउ’ अभियानबाट अघिल्लो र गत आव २०८०/८१ गरी दुई वर्षमा ४५४ महिलाले सेवा प्राप्त गरेको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिए ।   

उनका अनुसार आमा र शिशुको स्वास्थ्यलाई दृष्टिगत गरी सञ्चालन गरिएको ‘आमा बचाउ’ अभियानमा उक्त अवस्थाका महिलालाई अस्पतालसम्म पु-याउन उपमहानगरले चारवटा एम्बुलेन्सबाट निःशुल्क सेवा सञ्चालन गरेको छ ।

एउटा एम्बुलेन्स उपमहानगर आफैँले सञ्चालन गरेको र तीनवटा एम्बुलेन्स वडा नं १६, १८ र १९ बाट सञ्चालनमा ल्याइएको स्वास्थ्य शाखा प्रमुख अवस्थीले जानकारी दिए । “ग्रामीण क्षेत्रमा अस्पतालसम्म पुग्न सवारी साधन पाइँदैन”, उनले भने, “यसैलाई मध्यनजर गरी यो अभियान सञ्चालन गरिएको हो । यसबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित हुनुभएको छ ।”

‘आमा बचाउ’ अभियान ग्रामीण क्षेत्रका महिलालाई निकै प्रभावकारी भएको वडा नं. १९ का वडाध्यक्ष बाँधुराम चौधरीले बताए । उनले भने, “कसैसँग अस्पताल पुग्ने भाडासमेत हुँदैन । उहाँहरुलाई यसले राहत प्रदान गरेको छ । अस्पतालसम्म पुग्न अन्य सवारी पाउन पनि मुस्किल पर्छ । निःशुल्क एम्बुलेन्स सेवाले गर्भवतीलाई अस्पतालसम्म पुग्न सहज भएको छ ।”

चालु आवमा पनि अभियान निरन्तर रहेको उपमहानगरपालिकाका नगर उपप्रमुख कन्दकलाकुमारी रानाले बताए । “हामी यस अभियानलाई अझै प्रभावकारी बनाउदै लैजाने योजनामा छौँ”, उनले भने,  “चालु आवमा थप एउटा एम्बुलेन्स पालिकाले ल्याइसकेको छ । त्यो पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी छ ।”

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update