Odapalika - The Fourth Estate - चौथो अंग
नेप्सेमा रेकर्ड ब्रेक, २७ अर्ब २४ करोडको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार कायम गरेको कारोबार रेकर्ड सोमबार नै ब्रेक गरेको छ । सोमबार सेयर बजार ७०.८१ अंकले बढेर नेप्से परिसूचक २९३१.६५ विन्दुमा कायम हुँदै बन्द भएको छ । 

यसअघि आइतबार ९४.५३ अंकले बढेर २५ अर्ब २७ करोडको कारोबार भएको सेयर बजारमा सोमबार अघिल्लो दिनको रेकर्ड तोड्दै ६ करोड ४८ लाख ७६ हजार २१७ कित्ता सेयर किनबेच  भएर २७ अर्ब २४ करोड २० लाख ३४ हजार ७५६ रुपैयाँको कारोबार भएको छ । यो कारोबार ३० महिनायताकै अर्थात् २०७८ माघयताकै उच्च हो ।

यसदिनको कारोबारमा १७१ कम्पनीको सेयर मूल्य बढ्दा ६८ कम्पनीको सेयर मूल्य घटेको छ । यसदिन सात वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

बैंकिङ २.९५, विकास बैंक ३.००, फाइनान्स ४.८१, होटल तथा पर्यटन २.९४, हाइड्रोपावर ३.४३, जीवन बीमा ५.८५, माइक्रोफाइनान्स १.०८, निर्जीवन बीमा २.९७, अन्य १.०० तथा ब्यापार समूह ४.१३ प्रतिशत बढेका छन् । बजार बढ्दा उपसूचकतर्फ इन्भेष्टमेन्ट समूह ०.१९ प्रतिशत, म्यानिफ्यक्चरिङ एन्ड प्रोसेसिङ समूह १.१९ प्रतिशतले घटेको छ । बाँकी ११ वटा समूहको परिसूचक बढेको छ । 

सात कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ, जोशी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, स्वेतगंगा हाइड्रोपावर, शुभम् पावर, भिजन लुम्बिनी ऊर्जा, सगरमाथा जलविद्युत्को मूल्य १० प्रतिशत बढेको हो । कुथेली बुकरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशत घटेको छ । 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update