Odapalika - The Fourth Estate - चौथो अंग
सिम्रौनगढ नगरपालिकामा माछा खाँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु

काठमाडौँ । बाराको सिम्रौनगढ नगरपालिका माछा खाँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । बाराको सिम्रौनगढ नगरपालिका– ७ झवानी टोलका नरेश रामको परिवारले गएको शनिबार पानी जमेको स्थानबाट माछा मारेर ल्याएर खाँदा तीन बालबालिकाको मृत्यु भएको हो । 

माछा खाएपछि बिरामी भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको सिम्रौनगढ नगरपालिका मेयर किशोरी साह कलवारले जानकारी दिए । 

‘शनिबार पानी जमेको स्थानबाट माछा ल्याएर खाएका रहेछन् । माछा खाएपछि बिरामी भएकाले अस्पताल लगियो,’ उनले वडापालिकालाई भने, ‘आइतबार दिउँसो १ बजे, राति १० र १२ बजे उपचारका क्रममा तीन बालबालिकाको मृत्यु भयो ।’ उनका अनुसार बाँकी परिवारका सदस्यको अवस्था सामान्य रहेको छ । 

मृत्यु हुनेमा नरेशरामका ९ वर्षीया छोरी लालिमा, ७ वर्षीया छोरी पुष्पा र ५ वर्षीय छोरा कृष्णनन्दन रहेका मेयर कलवारले बताए । 

शनिबार माछा खाएपछि बालबालिकालाई फूडप्वाइजन भएको उनले बताए । बिरामी भएलगत्तै स्थानीय स्वास्थ्य संस्था लगिएको थियो । त्यहाँबाट रिफर भएर कलैया अस्पताल लगिएकोमा कलैया अस्पतालले पनि वीरगञ्जस्थित नेसनल मेडिकल कलेज रिफर गरेको थियो । बालबालिकामा पेट दुख्ने, बान्ता हुने र झाडापखाला लाग्ने समस्या देखिएको थियो । 

मृतक तीन बालबालिकाको सोमबार नै अन्त्येष्टि गरिएको मेयर कलवारले जानकारी दिए । 


 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ११:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update