Odapalika - The Fourth Estate - चौथो अंग
ट्होटे पर्वकाे अवसरमा स्थानीय तहले दियो सार्वजनिक बिदा 

लमजुङ । गुरुङ समुदायले मंगलबार ट्होटे पर्व धुमधामसँग मनाइरहेका छन् । गण्डकी प्रदेशभित्र हरेक वर्षको साउन र चैतको अन्तिममा मंगलबार गुरुङ समुदायले ट्होटे पर्व मनाउने गरेका छन् । गुरुङ समुदायले मनाउने ट्होटे पर्वको अवसरमा केही स्थानीय तहले मंगलबार सार्वजनिक बिदासमेत दिएका छन् । 

लमजुङको क्व्होलासोथार गाउँपालिकाले मंगलबार सार्वजनिक बिदा दिएको छ । गएको शनिबार बसेको कार्यपालिकाको बैठकले मंगलबार ट्होटे पर्व मनाउन गाउँपालिकाभरि सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्लेले जानकारी दिए । 

प्रमुख प्रशासकीय अधिकृत वाग्लेको हस्ताक्षर रहेको सूचनामा उल्लेख गरिएको छ, ‘गण्डकी प्रदेशभित्र गुरुङ समुदायले प्रत्येक वर्ष साउन र चैत महिनाको अन्तिम मंगलबार सांस्कृतिक पर्वका रुपमा टूहोटे पर्व धुमधामका साथ मनाउने परम्परा रहि आएको हुँदा सो पर्वको पावन अवसरमा मिति २०८१।०४।२९ गते मंगलबारका दिन क्व्होलासोथार गाउँपालिका कार्यालय र अन्तर्गतका वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु (अत्यावश्यक सेवा बाहेक), सबै विद्यालयहरु तथा गाउँपालिकाभित्र रहेका बैंक, वित्तिय संस्था लगायत अन्य संघसंस्थाहरु समेतमा स्थानीय विदा दिने मिति २०८१।०४।२६ गते बसेको कार्यपालिका बैठकको निर्णय भएकोले सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । साथै टूहोटे पर्वको अवसरमा यस गाउँपालिका र देश विदेशमा रहनुभएका सम्पुर्ण महानुभाव प्रति हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।’ 

notice-1723532099.jpeg
 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १२:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update