Odapalika - The Fourth Estate - चौथो अंग
५ महिनादेखि खोज्दा पनि पाइएन शिक्षक, अब कसले पढाउला गणित ?

काठमाडौँ । राजनीतिक दलका नेतादेखि चिया चौतारीसम्ममा हुने आम गुनासो छ– रोजगारीको अवसर नै सिर्जना गर्न सकिएन, जागिर नै पाइएन । 

हुन पनि १ जनाका लागि खुलेको जागिरका लागि हजारजनासम्मले आवेदन दिने गरेका छन् । 

तर नेपालकै यस्तो स्थानीय तहपनि छ, जसले ४ पटक विज्ञापन गर्दा पनि एकजना जागिरे पाउन सकेको छैन । अर्थात गत २६ वैशाखबाट एक जना जागिरेको खोजीमा लागेको गाउँपालिकाले अहिलेसम्म जागिर खाइदिने व्यक्ति भेट्टाउन सकेको छैन । 

दैलेखको भगवतीमाई गाउँपालिका १ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा राहत कोटामा निमावि तहका एकजना शिक्षक चाहिएको ५ महिना भयो । 

गणित विषय पढाउने शिक्षक अभाव भएपछि गाउँपालिकाको शिक्षा शाखाले शिक्षक नियुक्तिका लागि विद्यालयलाई अनुमाति पनि दियो । 

विद्यालयले गत बैशाखबाट हालसम्म चौथोपटक विज्ञापन गर्दासमेत गणित विषय पढाउन आवेदन नपरेको पालिकाले जनाएको छ । 

तेस्रोपटक विज्ञापन गर्दासमेत शिक्षक हुन कसैले आवेदन नदिएपछि २७ साउनमा विद्यालयले पुनः विज्ञापन आह्वान गरेको छ । 

१८ वर्ष पुरा भएर ४० वर्ष ननाघेका र प्लस टु वा सो सरह उत्र्तीण गरी शिक्षक लाइसेन्स भएकाले यो पदमा आवेदन दिन सकिने भनिएको छ । 

आवेदन दिदा २ हजार रुपैयाँ दस्तुर तोकिएको छ । तर पालिका भित्र विद्यालयले मागेअनुसारको योग्यता दाबी गर्दै कसैले आवेदन नदिएको र बाहिरबाटसमेत कसैको आवेदन नपरेको विद्यालयको भनाइ छ ।

गन्म-विज्ञापन_0-1723547732.jpg
 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update