Odapalika - The Fourth Estate - चौथो अंग
सहकारी प्रकरणबारे स्थानीय तहलाई मन्त्रालयले भन्यो– तुरुन्त विवरण पठाउनू

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई सहकारीसम्बन्धी विवरण तत्काल पठाउन निर्देशन दिएको छ । 

प्रतिनिधिसभाअन्तर्गत सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिको आग्रहअनुसार मन्त्रालयले देशभरका सबै स्थानीय तहलाई सहकारीसम्बन्धी विवरण तुरुन्त पठाउन भनेको हो । 

सहकारीमा बचत गरिएको रकम अपचलन हुँदा लाखौँ नागरिक समस्यामा परेपछि प्रतिनिधिसभाले यसबारे छानबिन गर्न सूर्य थापाको नेतृत्वमा समिति गठन गरेको छ । सो समितिलाई अध्ययन अनुसन्धानमा सहयोग पुग्नेगरी आवश्यक विवरण पठाउन स्थानीय तहलाई मन्त्रालयले भनेको हो । 

७५३ वटै स्थानीय तहलाई मन्त्रालयले पठाएको पत्रमा भनिएको छ :

संघीय संसद, प्रतिनिधि सभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको च.नं. ९ मिति २०८१/०४/०८ को स्थानीय तहबाट विवरण सङ्कलनका लागि समन्वय सम्बन्धी पत्र आवश्यक जानकारी तथा कार्यार्थको लागि मिति २०८१/०४/१३ मा परिपत्र गरिएकोमा हाल सम्म पनि पर्याप्त विवरण प्राप्त हुन नसकेकोले पुनः परिपत्र गर्न समितिबाट मौखिक अनुरोध भई आएको हुँदा माग भएवमोजिमको विवरण यथाशिघ्र उपलब्ध गराईदिनुहुन आदेशानुसार अनुरोध छ ।

नोटः– विवरण संघीय संसद, प्रतिनिधि सभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा उपलब्ध गराई दिनु होला ।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update