Odapalika - The Fourth Estate - चौथो अंग
चापाकोट नगरपालिकामा प्रभावकारी बन्दै ‘भैँसी ब्लक’ कार्यक्रम

काठमाडौँ । स्याङ्जाको चापाकोटमा ‘भैँसी ब्लक’ कार्यक्रम प्रभावारी बन्दै गएको छ । यो कार्यक्रमले किसानहरु पशुपालनतर्फ आकर्षित भएका छन् ।

भैँसी ब्लक कार्यक्रमले चापाकोट–८ मा रहेको रत्नपुर साना किसान कृषि सहकारी संस्थामा आबद्ध किसानको व्यावसायिक विकासका लागि सहयोग पुगेसँगै पशुपालनतर्फ आकर्षित भएका सहकारीका अध्यक्ष जीवन डोटेल वताउँछन् ।

भैँसी ब्लक कार्यक्रमले परम्परागत रुपमा पशुपालन गर्दै आएका किसानको आनीबानी तथा व्यवहारमा परिवर्तन ल्याएको उनको अनुभव छ । 

भैँसी ब्लक कार्यक्रमबाट गोठलगायत पूर्वाधार निर्माण गरी यहाँका किसानले नयाँ पशु पनि थप गर्दै गएका छन् । भैँसी ब्लक कार्यक्रममा सहकारीमा आबद्ध ६१ जना किसान सहभागी छन् । यहाँका ६१ किसानका नयाँ गोठ निर्माण, पुराना गोठ मर्मत, डुँड तथा भकारो सुधार, मलमूत्र व्यवस्थापन कार्य भैँसी ब्लकमार्फत सञ्चालन गरिएको थियो ।

भैंसी पाल्नका लागि संरचना आधुनिक तरिकाले निर्माण भएका छन् । पुराना संरचनालाई मर्मत तथा सुधार गरिएको छ । घाँसलाई काटेर स–सानो टुक्रा पारेर पशुलाई दिँदा खेर नजाने हुँदा घाँसको बचत भएको छ । दानापानीका लागि डुँड बनाइएकाले सहज भएको छ । भेटेरिनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्रको साझेदारीमा गत आर्थिक वर्षबाट भैँसी ब्लक कार्यक्रम सञ्चालन भएको हो ।

भैँसी ब्लक कार्यक्रम सञ्चालन भएपछि स्थानीयस्तरमा पहिलेदेखि नै पशुपालन गर्दै आएका किसान थप व्यावसायिक बन्दै गएको भेटेरिनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्रका वरिष्ठ पशु चिकित्सक डा रुपेश श्रेष्ठ बताउँछन् ।

सहकारीमा आबद्ध चापाकोट–८ र ९ मा नयाँ गोठ निर्माण पाँच, गोठ मर्मत सुधार ९, डुँड निर्माण भकारो सुधार ३३, मलमूत्र व्यवस्थापनसम्बन्धी १४ गरी कूल ६१ किसान लाभान्वित भएका हुन् । 
 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update