Odapalika - The Fourth Estate - चौथो अंग
अक्वा त्रिदेव व्राण्डको पानीमा कोलिफर्म भएको पुष्टि, २ लाख रुपैयाँ जरिवाना 

काठमाडौँ । ‘अक्वा त्रिदेव’ व्राण्डबाट उत्पादित जारको पानीमा कोलिफर्म भेटिएपछि काठमाडौँ महानगरपालिकाले २ लाख जरिवाना गर्ने निर्णय गरेको छ । यो तारकेश्वर नगरपालिका वडा नं. १० मा सञ्चालित जाम्बुलिङ्गा ग्रुप इष्डष्ट्रीले उत्पादन गरेको पानी हो । 

निरीक्षण अधिकृत डा. अवधेश झाका अनुसार साउन २५ गते गोङ्गवु क्षेत्रबाट विभिन्न ५ वटा व्राण्डका नामबाट उत्पादन भएका २० लिटरका जारबाट पानीको नमूना लिइएको थियो । यसरी लिइएको नमूना काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । 

नमूना परीक्षणबाट मंगलबार रिपोर्ट प्राप्त भयो । प्राप्त रिपोर्टमा अक्वा त्रिदेव व्राण्डको पानीमा फिकल कोलिफर्म भेटियो । प्रति १ सय मिलिलिटर नमूनामा ३०० भन्दा बढी कोलनी फर्मिङ् युनिट (सिएफयु) देखिएको छ । यो शून्य हुनुपर्छ । 

‘नेपाल सरकारको खाद्य तथा दाना पदार्थको अनिवार्य गुणस्तर मापदण्ड २०८० बमोजिम प्रशोधित पिउने पानीमा कोलिफर्म शून्य हुनुपर्छ । पानीमा सिएफयु ३ सयभन्दा धेरै देखिनु भनेको पानीको स्रोतमा सरसफाइ नभएको वा प्रशोधन प्रक्रिया पूरा नभएको भन्ने हो,’ खाद्य प्राविधिक अनिल बस्नेतले भने ।

कोलिफर्मको स्रोत मानव वा पशुको दिशा हो । 

यसमा भिब्रो कोलेरा भने शून्य देखाएको छ । यो भनेको हैजा फैलिने जीवाणु नभएको पुष्टी हुने बस्नेत बताउँछन् ।

डा. झाका अनुसार जरिवाना गरिएसँगै यो व्याचमा उत्पादन भएको सबै पानी विक्रीमा प्रतिबन्ध लगाइएको छ । पानीको नमूनामा पानीको कोलिफर्म शून्य नभएसम्म यो प्रतिबन्ध कायम हुनेछ । 

जार र बोतलको पानीमा कीरा, फोहर र कोलिफर्म देखिएपछि महानगरपालिकाले उमालेर मात्र पानी प्रयोग गर्न आग्रह गरेको छ । 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update