Odapalika - The Fourth Estate - चौथो अंग
सम्पदामा युवा र बालबालिका : सम्पदा र संस्कृति हस्तान्तरण गर्न अभिलेखन आवश्यक 

काठमाडौँ । सन्तानलाई हस्तान्तरण गर्नुपर्ने मुख्य सम्पत्ति भनेको संस्कृति र सम्पदाको यथास्थिति हो । यसलाई दुरुस्त हस्तान्तरण गर्न अभिलेखन चाहिएको छ । काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत भन्छन्, ‘कामको भार गहन छ, महसुस गरेर सञ्चालन गर्नुपर्छ ।’

महानगरपालिकाले युवा र बालबालिकाहरुलाई मौलिक सम्पदा र संस्कृतिका बारेमा अनुभूति गराउन तथा प्रवर्धनात्मक कार्यक्रम चलाउन सम्पदामा युवा र बालबालिका ‘सम्युवा’ कार्यक्रमका सञ्चालन गरेको छ । कार्यक्रममा आवद्ध स्वयंसेवकले अहिलेसम्म गरेका कामको समीक्षाका लागि आयोजना गरिएको कार्यक्रममा संयोजक संगतले यस्तो धारणा राखेका हुन् । 

महानगरपालिकाले स्वयंसेवकका रुपमा काम गर्न माग गरेको आवेदनबाट ४३७ जनाले फाराम भरेका थिए । सर्टलिष्टमा २४७ जना छानिए ।  उनीहरुमध्ये अन्तरर्वार्तामा १६५ जना उपस्थित भए । अन्तर्वार्ताबाट ४५ जना सम्युवा कार्यक्रमका लागि र १०० जना बाबा कार्यक्रमका लागि छानिए । उनीहरुले सम्पदा क्षेत्रमा काम गरिरहेका छन् । 

कार्यक्रमबारेमा सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले जानकारी दिइन् । सम्युवामा आवद्ध स्वयंसेवकहरुलाई जात्रा पर्व सञ्चालनका समयमा खटाउने गरिएको छ । मूर्त अमूर्त सांस्कृतिक सम्पदाको अध्ययन र अभिलेखन गर्न लगाइएको छ । स्वयंसेवकले गरेका कामका विषयमा जानकारी दिँदै महाशाखा प्रमुख सृजुमैयाँ प्रधानले समुदाय र विद्यालयमा गएर सम्पदाका अन्तर बस्तुका विषय, मौलिकता र सामाजिक व्यवस्थापनमा विषयमा काम भएको जानकारी दिइन् । 

स्वयंसेवकको उत्प्रेरणाका लागि कार्यक्रममा प्रमाण पत्र प्रदान गरिएको थियो । तालिममा स्वयंसेवक र सम्पदासम्बन्धी चिनारी, स्वयंसेवकको जिम्मेवारी, नेतृत्व विकास, समूहगत कार्यको विकास, आफू उत्प्रेरित हुने र अरुलाई उत्प्रेरित गराउन सक्ने विषयमा ज्ञान, सिप र क्षमताको विकास गरिने पर्यटन महाशाखा प्रमुख सृजु प्रधानको भनाइ छ ।  

यो वातावरण, शिक्षा, सम्पदा, सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक मूर्त अमूर्त सम्पदा, वातावरणीय अवस्था (प्राकृतिक सम्पदा) र यससँग आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध बुझ्ने अवसर हो । 

महानगरपालिकाले वि. सं. २०६७ सालमा ४० जना स्वयमसेवकमार्फत सम्युवा कार्यक्रम सञ्चालन थालेको हो । २०७२ सालको भूकम्पको अवधिमा करिब १०० स्वयमसेवकहरु सक्रिय रुपमा काम गरिरहेका थिए । भूकम्पले पु¥याएको क्षति व्यवस्थापनमा उनीहरु सक्रिय थिए । प्रतिकुल अवस्थामा स्वयमसेवकको व्यवस्थापनमा महानगरपालिकालाई कठिन भएपछि यो कार्यक्रम विस्तारै निष्क्रिय हुँदै गएको थियो । 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update