Odapalika - The Fourth Estate - चौथो अंग
तरहरादेखि तीनकुनेसम्मको सडक दुर्घटनामा मर्नेलाई शहीद घोषणा गर्नुपर्योः हर्क साम्पाङ

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानको तरहरादेखि तीनकुनेसम्मको सडकमा सडक दुर्घटना परी निधन भएका व्यक्तिहरुलाई शहीद घोषणा गर्न माग गरेका छन् ।

मेयर साम्पाङले संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई पत्र लेख्दै संघीय सरकारले समयमै काम नसकेका कारण सो सडकखण्डमा दुर्घटना भएकोले सबैलाई शहीद घोषणा गर्न माग गरेका हुन् ।

‘तरहरादेखि तीनकुनेसम्मको राजमार्ग निर्माणको कार्य विगत ८ वर्षदेखि चलिरहेको चलिरहेकै चलिरहेको चलिरहेकै..... चलिरहेको चलिरहेकै छ । अहिलेसमम आधा काम पनि पूरा भएको छैन । त्यो वाटोमा भएको खाल्डा र खुल्डीका कारण दुर्घटना भएर १ दर्जन जति बाइकमा यात्रा गर्ने नेपाली दाजुभाइ दिदीबैनीहरु अकाल ज्यान गुमाए । यसरी सरकारको नालायकीपनका कारण सडक दुर्घटनामा परी ज्यान गुमाउनेहरुको उचित क्षतिपूर्तिको माग गर्दै ती मृतक सबैलाई शहीद घोषणा गरी सो राजमार्गको नाम पनि शहीद राजमार्ग राखौं र छिटो गरी उद्घाटन गरौं भनी शीर झुकाएर निवेदन गर्दछु । कि अझै अरु पनि दुर्घटनामा परी मरुन् भनेर पर्खनु पर्ने हो । कि बिचार गरिदिनु होला,’ कोशी प्रदेशका मुख्यमन्त्रीलाई बोधार्थ दिइएको पत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update