Odapalika - The Fourth Estate - चौथो अंग
चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना भ्रष्टाचारी ठहर

काठमाडौँ । विशेष अदालतले हुम्लाको चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सातजनालाई  भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । 

२०८० फागुन १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको रिटमाथि बुधबार सुनुवाइ गर्दै विशेष अदालतले चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसहित सातजनालाई भ्रष्टाचारी ठहर गरेको हो । 

चंखेलीको वडा नम्बर ३ को फिल्ड निर्माण योजनामा अनियमितता भएपछि उनीहरुविरुद्ध रिट दायर गरिएको थियो । अदालतले वडा नं ३ का अध्यक्ष शालिग्राम ऐडी, इञ्जिनियर रुद्रबहादुर वली, असिस्टेन्ट सबइञ्जिनियर हर्कधन बुढा, उपभोक्ता समिति अध्यक्ष गोर्ख बुढा, सचिव मानबहादुर ऐडी, कोषाध्यक्ष डल्ली बुढालाई पनि भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । 

आर्थिक वर्ष ०७४÷७५ मा फिल्ड निर्माण कार्यको क्रममा भएकोभन्दा बढी मूल्यांकन गरी नापी किताबमा चढाइ हस्ताक्षर गरी भुक्तानी गर्दा ११ लाख ९४ हजार रुपैयाँ अनियमितता भएको थियो । 

न्यायाधीशहरू खुसीप्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले प्रतिवादी सबैलाई जनही तीन तीन महिना कैद सजाय तथा जनही एक लाख ७० हजार रुपैयाँ जरिबाना तोकेको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update