Odapalika - The Fourth Estate - चौथो अंग
रविको नैतिकतामाथि मुकुलको प्रश्न– राहदानीको सबै पान्ना सार्वजनिक गर्ने आँट छ ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट बर्खास्तीमा परेका डा. मुकुल ढकालले सभापति रवि लामिछानेको नैतिकतामाथि प्रश्न उठाउँदै आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् । 

बुधबार पार्टीले ‘तपाइँलाई साधारण सदस्यबाट किन नहटाउने ?’ भन्दै सोधेको २४ घण्टे स्पष्टीकरणको बिहीबार जवाफ दिँदै डा. ढकालले आफूमाथि लागेको आरोपको खण्डन गर्दै सभापति रविको नैतिकतामाथि नै प्रश्न गरेका छन् । 

नैतिक धरातलमा उभिएको पुष्टि गर्न सभापति रविलाई चुनौती दिँदै उनले आफूले सभापति रविसहित पार्टी नेतामाथि उठाएका प्रश्न सत्यमा आधारित रहेको दाबी गरेका छन् । 

महामन्त्री र प्रवक्ताबाट हटाउने पार्टीको निर्णयविरुद्ध मुकुलले निर्वाचन आयोगमा दिएको निवेदन विचाराधीन रहेको अवस्थामा बुधबार पार्टीले साधारण सदस्यबाट किन हटाउने भन्दै मुकुललाई स्पष्टीकरण सोधेको थियो । 

जसको जवाफमा सभापति रविकै नैतिकतामाथि प्रश्न उठाउँदै मुकुलले लेखेका छन्, ‘मैले आजसम्म तपाईंलाई होस् वा अन्य कुनै पनि नेतालाई झुटो आरोप लगाएको छैन, ती सबै सत्यमा आधारित छन् । तपाइँले ममाथि स्पष्टीकरण सोध्नु अघि आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न सक्नुपर्छ ।’

साथै रविले दुईवटा राहदानी (पासपोर्ट) प्रयोग गरेको विषयमा मुकुलले ती पासपोर्टका सबै पाना सार्वजनिक गर्ने आँट छ ? भनेर पनि प्रश्न गरेका छन् ।

सहकारीको रकम हिनामिना गरेको आरोप लागेको सभापति रविमाथि पनि उनले यस विषयमा प्रश्न गरेका छन् । उनले रविलाई सहकारी ठगी मुद्दामा पार्टीबाट स्वतन्त्र छानबिन समिति किन गठन नहुने ? भनेर आफ्नो स्पष्टीकरणमा प्रश्न गरेका छन् ।

सहकारी गठी प्रकरणमा सर्वाेच्च अदालतले सभापति रविमाथि छानबिन गर्नुपर्ने फैसला गरेको स्मरण गराउँदै मुकुलले आफ्नो स्पष्टीकरणमा लेखेका छन्, ‘म स्वय‌ंले पनि तपाइँको ढाँटलाई सत्य मानेर बसिरहेको थिएँ। तर, असार २०, २०८१ गते न्यायाधीशहरू सपना प्रधान मल्ल र शारंगा सुवेदीको सर्वोच्च अदालतको संयुक्त इजलासले तपाइँमाथि सहकारी ठगीसम्बन्धी छानबिन हुनुपर्ने फैसला गरिसकेको छ। सर्वोच्च अदालतको फैसलालाई तपाइँ मान्ने कि नमान्ने ? फैसला अनुसार पार्टीभित्र पनि अनुसन्धान गर्न दिने कि नदिने ?’ 

रविलाई गृह मन्त्रालय सम्हाल्दा सरुवा बढुवा कुन नीतिमा रहेर गरेको र जनता र पार्टीका साथीहरुलाई स्पष्ट पार्न मुकुलले चुनौती दिएका छन् । 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update