Odapalika - The Fourth Estate - चौथो अंग
नेप्से ४३.०५ अंकले बढ्यो, कारोबारमा हालसम्मकै उच्च रेकर्ड 

काठमाडौँ । चालु साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । गएको सोमबारको रेकर्ड तोड्दै बिहीबार कारोबारमा उच्च रेकर्ड बनाएको हो । 

यस दिन ६ करोड ८९ लाख ८९ हजार ३४६ कित्ता सेयर किनबेच हुँदा २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार २१६ रुपैयाँको सेयर कारोबार भएको छ ।  

यसअघि गएको सोमबार २७ अर्ब २४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । सो रेकर्डलाई तोड्दै बिहीबार हालसम्मकै कारोबारको उच्च रेकर्ड बनाएको हो । 

बिहीबार नेप्से ४३.०५ अंकले बढेर ३०००.८१ विन्दुमा बन्द भएको छ ।  यसदिन १०६ कम्पनीको सेयर मूल्य बढ्दा १३६ कम्पनीको सेयर मूल्य घटेको छ भने एक कम्पनीको सेयर मूल्य स्थिर रह्यो । 

यस दिन बुटवल पावर, राष्ट्रिय बीमा कम्पनी र मोडी इनर्जीको सेयर मूल्य १० प्रतिशत बढेको छ । नेपाल फाइनान्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्दा विन्ध्यबासिनी हाइड्रोपावरको ७.२, शुभम् पावरको ७.१, मिडसोलु हाइड्रोपावरको ६.२ तथा अपरहेवाखोलाको ५.६ प्रतिशत मूल्य घटेको छ । 

वाणिज्य बैंक समूहको सर्वाधिक परिसूचक वृद्धि भएको हो । यो समूहको परिसूचक ५.६५ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन, जीवन बीमा र लघुवित्त समूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update