Odapalika - The Fourth Estate - चौथो अंग
डब्लूएचओले विश्व महामारी घोषणा गरेको मंकीपक्स के हो, लक्षण कस्ता, बच्ने कसरी ?

काठमाडौँ । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले मंकीपक्स (एमपक्स)को प्रकोप फैलिएसँगै विश्वरभर स्वास्थ्य महामारी घोषणा गरेको छ । अफ्रिकाका केही भागहरूमा एमपक्स प्रकोप फैलिएपछि डब्लूएसआले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको बीबीसीले जनाएको छ।

उक्त रोगको प्रारम्भिक प्रकोपका कारण कंगोमा कम्तीमा ४५० जनाले ज्यान गुमाएका र हाल सो रोग मध्य तथा पूर्वी अफ्रिकामा विस्तार भएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरिएको हो । यो वर्षको सुरुआतदेखि यता कंगोमा एमपक्सका १३ हजार ७०० घटना भएका छन्, जसमा कम्तीमा ४५० को ज्यान गएको छ। त्यसयता यो संक्रमण बुरुन्डी, मध्य अफ्रिकी गणतन्त्र, केन्या र रुवान्डा जस्ता देशमा पनि देखापरिसकेको छ।

वैज्ञानिकहरू एमपक्सको एउटा नयाँ भेरिअन्टको सर्ने द्रुत गति र त्यसलाई निम्त्याइरहेको उच्च क्षतिको दरलाई लिएर चिन्तित रहेका बीबीसीले उल्लेख गरेको छ । 

डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले एमपक्स अफ्रिका र त्योभन्दा पर विस्तार हुनसक्ने सम्भावना ‘ज्यादै चिन्ताको विषय भएको’ बताएका छन् । यसको प्रकोपलाई रोक्न र जीवन रक्षा गर्नका लागि एउटा समन्वयकारी अन्तर्राष्ट्रिय समन्वय अत्यावश्यक रहेको उनको भनाइ छ । 

गत वर्षको असारमा नेपालमा पहिलोपटक एमपक्सको संक्रमण पुष्टि भएको थियो । नेपालमा रहेकी एक विदेशी महिलामा उक्त संक्रमण देखिएको थियो ।

एमपक्प के हाे र कसरी सर्छ ?

एमपक्स यौन संसर्ग, छालासँग सम्पर्कमा आउने वा अर्को व्यक्तिको नजिकै बोल्दा वा सास लिँदा नजिकको सम्पर्क कायम भएको अवस्थामा सर्ने गर्छ । बीबीसीका अनुसार यसले रुघा खोकी जस्तो लक्षण देखाउँछ । छालामा चोट देखापर्छ र यो ज्यादै घातक हुनसक्छ । १०० वटा एमपक्सका घटनामध्ये चारजनाको ज्यान गएको बताइन्छ।

एमपक्स रोग संक्रमित व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ खटिरा, बिमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थ (जस्तै थुक, र्‍यालको सम्पर्कबाट, भाइरसबाट दुषित सतह र सामग्रीको प्रत्यक्ष), संक्रमित बाँदर, मुसा, लोखर्केलगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्दछ ।

लक्षण र जोखिम

एमपक्सको संक्रमण भएपछि ज्वरो आउने गर्छ । ज्वरो आएको तीन दिनभित्र छाला, अनुहार, हत्केला, र पैतालामा डाबर देखा पर्ने चिकित्सकहरु बताउँछन् । 

साथै डाबर परिवर्तन भइ पोलेकोजस्तो फोका उठ्छ । पछि फोकामा पाप्रा लागेर उप्किने हुन्छ । टाउको, ढाड र मांसपेशी दुख्ने गर्छ । आँखामा संक्रमण भएमा दृष्टि गुम्नेसमेत जोखिम हुन्छ  । ज्वरो आउनेसँगै निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने र मृत्यु समेत हुने चिकित्सकहरु बताउँछन् । 

बच्ने उपाय  

एमपक्सको संक्रमणबाट बच्न सावधानी र चनाखो हुन आवश्यक छ । विशेषगरी एमपक्स संक्रमणको शंका  वा पुष्टि भएको व्यक्तिसँगको सम्पर्क जान हुँदैन । संक्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्ण रूपमा जनस्वास्थ्यका मापदण्डहरू पालना गर्ने तथा संक्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेसनमा राख्ने गर्नुपर्छ । 

संक्रमितको हेरचाहमा खटिएका स्वास्थ्यकर्मी, सहयोगी तथा आफन्तले संक्रमितलाई छुँदा पन्जा लगाउने गर्नुपर्छ ।संक्रमितको सम्पर्कमा रहने वा रहेकाले मात्र होइन सबैले नियमित साबुन पानीले हात धुने तथा स्यानिटाइजरको प्रयोग बेला बेलामा गरिरहने गर्नुपर्छ । 

संक्रमित व्यक्तिले प्रयोग गरेका कपडा तथा भाँडालाई तातो पानी, साबुन वा डिटर्जेन्टले धुने गर्नुपर्छ । यदी संक्रमितको सम्पर्कमा आएको व्यक्तिले स्वास्थ्य परीक्षण गरेर थप व्यक्तिमाथि हुने संक्रमणको जोखिमलाई न्यूनीकरण र आफ्नै स्वास्थ्यप्रति सावधानी अपनाउनुपर्छ । 

संक्रमित रहेको कोठालाई बेला बेलामा डिटर्जेन्टले निसंक्रमण गर्ने र मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने गर्नुपर्छ । 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update