Odapalika - The Fourth Estate - चौथो अंग
चियाखेतीबाट पर्यटनलाई जोड्ने ऋषिङ र आँबुखैरेनी गाउँपालिकाको उद्देश्य, एकैदिन रोपे ५ हजार ७०० बेर्ना

तनहुँ ।  जीविकोपार्जनसँग पर्यटनलाई जोड्ने उद्देश्यले ऋषिङ र आँबुखैरेनी गाउँपालिकाले चियाखेती सुरु गरेका छन् । ऋषिङ गाउँपालिकाले वडा नं ३ स्थित दुवुङकोटमा बिहीबार एक हजार पाँच सय चियाको बिरुवा रोपेको छ भने आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी–६ हिलेखर्कस्थित बतासे डाँडाको १५ रोपनी क्षेत्रफलमा चार हजार दुई सय बेर्ना सारेको छ ।

ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठका अनुसार यो वर्ष परीक्षणका रुपमा रोपिएका बिरुवाबाट अपेक्षाअनुसार उत्पादन भएमा भविष्यमा त्यसलाई विस्तार गरिनेछ । हाल दुवुङकोटको एक सय रोपनी जग्गामध्ये १२ रोपनीमा हाल बिरुवा लगाइएको हो । 

स्थानीयवासीलाई रोजगारीसँग जोड्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले परीक्षणका रुपमा चियाखेती गरिएको उनले बताए । चिया बगानका माध्यमबाट दुवुङकोटलाई पर्यटकीयस्थलका रुपमा पनि  विकास गर्न सकिने अध्यक्ष श्रेष्ठ बताउँछन् । 

ऋषिङ गाउँपालिका–३ का वडाध्यक्ष भीमबहादुर थापा दुवुङकोटमा ‘भ्यूटावर’ पनि रहेकाले यो ठाउँ आन्तरिक पर्यटकका निम्ति प्रमुख गन्तव्यका रूपमा विकास गर्न सकिने बताउँछन् । 

प्रधानमन्त्री रोजगार कार्यक्रम र कृषि विकास शाखाको संयुक्त कार्यक्रमबमोजिम आँबुखैरेनीको बतासे डाँडामा चिया बगान बनाउने प्रयास भएको कृषि विकास शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए । उनले भने, “यहाँको हावापानी चिया बगानका लागि उपयुक्त भएकाले परीक्षणको रुपमा पहिलोपटक चियाका बिरुवा रोपिएको हो ।”

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update