Odapalika - The Fourth Estate - चौथो अंग
कर वृद्धिको विरोधमा व्यवसायीले बुझाए मेयरलाई साँचो

मकवानपुर । कर वृद्धिको विरोधमा आन्दोलनमा उत्रिएका हेटौंडा व्यवसायीले हेटौँडा उपमहानगपालिकालाई साँचो बुझाएका छन् । 

१५औँ नगरसभाबाट चालु आर्थिक वर्षको लागि २० देखि १५० प्रतिशतसम्मको करको दर पारित गरेपछि आन्दोलनमा उत्रिएका व्यवसायीले शुक्रबार मेयर मिनाकुमार लामा र उपमेयर राजेश बानियाँलाई डमी साँचो बुझाएका हुन् । 

‘आज व्यवसायीहरुले  हामीलाई डमी चावी बुझाएका छन्,’ मेयर लामाले वडापालिकालाई भनिन् । 

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा आन्दोलनमा उत्रिएका व्यवसायीले यसअघि करको दरसम्बन्धी निर्णय फिर्ता लिन माग गर्दै ज्ञापनपत्रसमेत बुझाएका थिए । तर, माग सम्बोधन नभएपछि साँचो नै बुझाएर उनीहरु उपहानगरको कार्यालयमा धर्नामा बसेका छन् । 

व्यवसाय कर, घरभाडाको आधार दर, एकीकृत सम्पत्ति कर र विज्ञापन करमा १५० प्रतिशतसम्म वृद्धि गरेपछि व्यवसायी आन्दोलित भएका हुन् । आन्दोलित उद्योगी व्यवसायीले वृद्धि गरिएको कर खारेज गर्नुपर्ने माग गर्दै आएका छन् । 

सहमतिको प्रयास 

आन्दोलिन व्यवसायीलाई सहमति ल्याउने प्रयास भइरहेको मेयर लामाले बताइन् । व्यवसाय नै बन्द गरेर आन्दोलनमा उत्रिएका व्यवसायीसँग आफू निरन्तर औपचारिक तथा अनौपचारिक छलफलमा जुटिरहेको उनले बताइन् । ‘व्यवसायीको मागको विषयलाई लिएर म निरन्तर उनीहरुसँग संवादमा छु,’ उनले भनिन् । 

करको दर वृद्धिले आफूहरुले व्यवसाय नै गर्न नसक्ने स्थिति बनेको बताएका व्यवसायीसँग बिहीबार पनि मेयर लामाले छलफल गरेकी थिइन् । ‘मैले हिजो (बिहीबार) पनि व्यवसायीहरुसँग छलफल गरेको छु,’ उनले भनिन् । 

साँचो बुझाएर धर्नामा बसेका व्यवसायीसँग शुक्रबार पनि छलफल गर्न उनले बताइन् । ‘आज अपरान्ह ४ बजे व्यवसायीसँग छलफलको समय तय गरेको छु,’ मेयर लामाले भनिन् । 

आन्दोलित व्यवसायीको मागको विषयलाई लिएर राजनीतिक तथा सरोकारवालासँग पनि छलफल गरेको उनले बताइन् । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update