Odapalika - The Fourth Estate - चौथो अंग
गठ्ठाघर दुर्घटना : महिला भनिएकी मृतक कसरी भए पुरुष ?

काठमाडौँ । भक्तपुरको गठ्ठाघरस्थित अरनिको राजमार्गमा बिहीबार ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार व्यक्तिको ज्यान गयो । ट्राफिक प्रहरीले चेकजाँच गर्ने क्रममा स्कुटरमा सवार व्यक्तिलाई पछाडिबाट आइरहेको ट्रकले किच्यो । यसले गठ्ठाघरक्षेत्र तनाव ग्रस्त बन्यो । 

घटना भएलगत्तै समाचारको आधिकारिकताका लागि १०० मा फोन गर्दा प्रहरीले भक्तपुर प्रहरीलाई सम्पर्क गर्न भन्दै फोन नम्बर दियो । यसपछि ट्राफिक प्रहरीको १०३ मा कल गर्दा घटना सामान्य भएको र अहिले घाइतेलाई उपचारका लागि अस्पताल पठाएको र सो क्षेत्रको अवस्था सामान्य बनेको र सवारी आवागमन पनि सुुचारु भएको जवाफ आयो । तर, यो जवाफ आइरहँदा गठ्ठाघर तनावग्रस्त बन्दै गएको थियो ।

यसपछि भक्तपुर प्रहरीको कन्ट्रोल रुममा फोन गर्दा घटनास्थलमा रहेका प्रहरीलाई सम्पर्क गर्न भनियो । प्रहरीको तीन आधिकारिक स्थानमा फोन गर्दा घटनाबारे जानकारी नै नभएको वा जानकारी दिन नचाहेको हो, बुझिएन । साथै ट्राफिक प्रहरीको १०३ मा सम्पर्क गर्दा सामान्य दुर्घटना भएको र अवस्था सामान्य रहेको जवाफले प्रहरीको कन्ट्रोल रुमबाट प्रवाह हुने सूचना भरपर्दा र विश्वसनीय नरहेको पुष्टि गर्छ गठ्ठाघर घटनाले । 

भक्तपुर प्रहरी परिसरका डीएसपी राजन कार्कीलाई सम्पर्क गर्दा उनले घटना भएको पुष्टि गर्दै आफू भिडभाडमा रहेकाले पछि कुरा गर्ने भन्दै थप बताउन चाहेनन् । र यो बेलासम्म गठ्ठाघर निकै तनावग्रस्त भइसकेको थियो । सवारी आवागमन रोकिएको मात्र थिएन आक्रोशित स्थानीय तथा सर्वसाधारणले ट्राफिक प्रहरीको लापरबाहीले घटना भएको भन्दै प्रहरीमाथि जाइलागिरहेका थिए ।

कौशलटारबाट गठ्ठघरतर्फ आइरहेको बा. ४९ प ८९४४ नम्बरको स्कुटरलाई सोही दिशाबाट आइरहेको ना. ६ ख २१७३ नम्बरको मालबाहक ट्रकले ठक्कर मात्र दिएको थिएन, स्कुटर र मानिसलाई घिसारेर अघि बढेको थियो । यो दृश्य देखेका मानिस आक्रोशित हुँदै प्रहरीमाथि ढुंगामुढा गर्न थाले । 

यही बेला प्रहरीबाट घटनामा ज्यान गुमाउने महिला भनेर सूचना आयो । मृतकको सनाखत भएको र मृतक महिला भनियो । स्कुटरमा सवार महिलाको मृत्युको खबर देश विदेशमा फैलियो । महिलाको नाम र स्थायी ठेगाना खुलाएर समाचार प्रकाशित भए । जुन खबर ती महिलाको आफन्त र परिवारकोमा पुग्यो । यस खबरले मृतक भनिएकी महिलाको परिवारमा परेको चोटको अनुमानसमेत गर्न सकिँदैन ।

तर, मृतक भनिएको महिला प्रहरीको सम्पर्कमा पुगेर आफू जीवितै रहेको बताएपछि घटनाप्रतिको संवेदनशीलता र मृतकको पहिचान गर्ने कार्यमा प्रहरी कति कमजोर रहेछ भन्ने देखायो । मृत्युजस्तो संवेदनशील विषयमा बिनाआधार नै कसरी प्रहरीले मृतक महिला भन्यो ? यो प्रश्न गम्भीर रुपले उठेको छ । 

सो घटनामा ज्यान गुमाउने पुरुष रहेको प्रहरीले पुष्टि गरिसकेको छ । महिलाले आफू जीवित रहेको बताएपछि सीसीटीभीको फुटेजको आधारमा मृतक पुरुष रहेको बताउने प्रहरीले प्रविधिको सहायताविना र भरपर्दाे विनाआधार नै ‘मृतक महिला’ भन्ने गलत सूचना दिएर महिलाको परिवारमा आघात पुर्‍यायो । 

घटनालगत्तै महिला मृतक भनिए पनि पछि महिला नभएको थाहा  भएको डीएसपी राजन कार्की बताउँछन् । ‘एक पुरुषले मृतक महिला आफ्नो बहिनी भएको बताएर सनाखत गरेपछि आफूहरुले मृतक महिला रहेको भनेका हौँ,’ उनले वडापालिकासँग भने, ‘पछि मृतक भनिएकी महिला प्रहरीको सम्पर्कमा आएर आफू जीवितै रहेको बताएपछि थप अनुसन्धान गर्दा मृतक पुरुष भएको थाहा हुन आयो ।’ 

दुर्घटनास्थल अरनिको राजमार्गमा तीव्र गतिमा सवारी चलेका हुन्छन् । सो क्षेत्रमा हुने ट्राफिक चेकजाँचको विरोध हुँदै आएको छ ।  यही बेला सो घटना भएको हो । यस घटनामा पनि ट्राफिक प्रहरीको लापरबाही भएको भन्दै त्यस क्षेत्रमा रहेका मानिस प्रहरीमाथि नै जाइलागे । प्रहरीमाथि ढुंगामुढा भए । स्थितिलाई नियन्त्रणमा लिन सुरुमा ११८ जनाको प्रहरी टोली खटिएयो । तर, सकिएन । फेरि थप १३० जनाको टोली खटाइयो । यसले पनि स्थिति नियन्त्रणमा लिन सकिएन । पछि सशस्त्र प्रहरीको १२० जनाको प्रहरी टोलीलाई पनि खटाइयो ।  स्थिति झन उग्र बन्दै गएपछि प्रहरीले २२ राउन्ड अश्रु ग्याँस प्रहार गरेको थियो । साँझ परेसँगै स्थिति सामान्य बन्दै गएको थियो । 

शुक्रबार मृतकको पहिचानसहित सनाखत भएको छ । मृतक ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–४, खहरेका ६५ वर्षीय उत्तम कोइराला रहेका भक्तपुरका डीएसपी राजन कार्कीले वडापालिकालाई जानकारी दिए । उनको मृतकका परिवारका सदस्यले सनाखत गरेका हुन् । हाल शवको पोष्टमार्टम गर्ने कार्य अघि बढाइएको उनले बताए । 

स्कुटरलाई ठक्कर दिने ट्रक चालक सर्लाहीको मलंगवा नगरपालिका–२ का ३२ वर्षीय मलङ सतेन्द्र श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । 

गृहमन्त्री रमेश लेखकले बिहीबार एक पुरुषको ज्यान जानेगरी गठ्ठाघरमा भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक (आइजीपी) वसन्तबहादुर कुँवरलाई सो घटनाको गम्भीरतापूर्वक छानबिन गर्न निर्देशन दिएका हुन् । 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १५:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update