Odapalika - The Fourth Estate - चौथो अंग
अध्यक्षको पहलमा छिन्नमस्ता गाउँपालिका बनाउन जुटेका युवा काँधहरु 

काठमाडौँ । स्थानः सप्तरीको छिन्नमस्ता गाउँपालिका कार्यालय । बाहिरको तापक्रम ४२ डिग्री सेन्टिग्रेट । पसिना पुछ्दै भेला भएका छन् युवाहरुको एउटा ठूलो समूह । सन्दर्भः मेयरसँग युवा कार्यक्रम । 

मञ्चमा बसेका गाउँपालिका अध्यक्ष भर्खर २८ वर्ष पुग्दैछन् । उनको पदचाप पछ्याउँदै गाउँमै केही गर्न जुटेका युवा समूह राता खादा लगाएर उत्साही मुद्रामा छन् । 

कारण गाउँपालिकाले शनिवारबाट सुरु गरेको मेयरसँग युवा कार्यक्रम । अन्य पालिकामा औपचारिकता निर्वाह गर्दै आएको यो कार्यक्रम छिन्नमस्तामा भने अलि पृथक ढंगले सुरु भयो । 

‘किनभने हामी युवालाई स्वरोजगारसँग र समाजसँग जोड्ने अभियानमा छौँ । यो अभियानले विदेश जाने युवालाई गाउँमै केही गर्न प्रेरित मात्र गर्दैन, रचनात्मक ढंगले श्रमसँग जोडिनका लागि सहजीकरण पनि गर्छ,’ अध्यक्ष विद्यानन्द चौधरीले वडापालिकासँग भने । 

hinnamasta-1723960560.jpg
चौधरीका अनुसार युवाहरुलाई उनीहरुका समस्या समाधान गर्दै व्यवसायसँग जोड्ने महाअभियानका साथ पालिकाले मेयरसँग युवा कार्यक्रम सुरु गरेको हो । 

यो कार्यक्रमअन्तगरत पालिकाले कृषि क्षेत्रमा केही गर्न चाहने युवालाई प्रोत्साहन गर्ने, स्थानीय बैँक तथा बित्तीय संस्थासँग सस्तो व्याजदरमा ऋण दिलाइदिन सहजीकरण गर्ने काम गर्छ । 

यसका लागि पालिकाले ज्योतिष कुमार मिश्राको संयोजकत्वमा ३०१ सदस्यीय युवा सञ्जाल बनाएको छ । जुन सञ्जाल वडावडासम्म पनि विस्तार हुँदैछ । 

सञ्जालले स्थानीय युवाका समस्याहरु टिपोट गर्नेछ । ती समस्याका बारे पालिका नेतृत्वसँग बसेर छलफल गर्छ । यसवाट एउटा निष्कर्षमा पुगेपछि युवालाई आवश्यक सहयोग गर्छ । 

चौधरी भन्छन्, ‘जस्तो कि कुनै युवा समूहले कृषि उत्पादन गरेको छ तर बजार छैन भने हामी यस्ता उपज किन्छौँ ।’ उनले थपे, ‘हामीले किनेका कृषि उपज विद्यालय खाजामा प्रयोग गर्छौँ, वढी भएको उत्पादनको बजार खोजेर बिक्री गर्छौं । ’

यो कार्यक्रम अन्तरगत युवालाई सीपमूलक तालिम दिने योजना पालिकाको छ । सँगसँगै विपदमा पनि यो समूह सक्रिय हुने छ । त्यसैगरी स्थानीय स्तरको सरसफाइदेखि सामाजिक गतिविधिमा समेत युवालाई सक्रिय बनाएर सामाजिकीकरण गर्ने अध्यक्ष चौधरीको योजना छ । 

hinnamasta2-1723960609.jpgसञ्जाल गठन गरेलगत्तै पालिकाको समन्वयमा एक हजार युवाले एकै दिन व्लड डोनेशन कार्यक्रम आयोजना गर्दैछ । अध्यक्ष चौधरी यसलाई सामाजिकीकरणको पहिलो खुट्किला ठान्छन् । 

रोजगारी सिर्जना गरेर गाउँमै युवालाई राख्न सके गाउँको समृद्धि तत्काल सम्भव हुने देखेर आफुजस्तै युवालाई साथमा लिएर हिड्न चाहेको उनको भनाइ छ । 

अभियान निरन्तर चल्ने र यसले चाँडै बेरोजगारको अन्त्य गर्दै पालिकालाई समृद्धिको बाटोमा लैजाने उनको भनाइ छ । 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update