Odapalika - The Fourth Estate - चौथो अंग
खुकुरी प्रहार गर्ने चक्रे मिलन समूहमा आबद्ध वडाध्यक्ष प्रहरी नियन्त्रणमा

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकाका–२ का वडा अध्यक्ष ज्ञानेन्द्रराज वली पक्राउ परेका छन् । सन्दीप विष्ट र सुलभ मल्ललाई खुकुरी प्रहार गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

वडा अध्यक्ष वलीको खुकुरी प्रहारबाट घाइते भएका उनीहरुलाई उपचारका लागि भारतको लखनउ लगिएको छ । 

गुन्डा नाइके भनिएका चक्रे मिलन समूहमा वडा अध्यक्ष वली आबद्ध रहेको र उनको समूहले विष्ट र मल्लमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका वडा अध्यक्ष वलीलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको प्रहरी जवान अनिता खड्का सुनारले वडापालिकालाई जानकारी दिइन् । 

वडा अध्यक्ष पक्राउबारे आफूलाई जानकारी नभएको सो गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले बताए । आफूले हल्लामात्र सुनेको भए पनि उनी पक्राउ परेको आधिकारिक रुपमा जानकारी नरहेको बताए । ‘वडा अध्यक्ष पक्राउबारे जानकारी छैन । मलाई पुलिसले भनेको छैन । हल्ला सुनेको हो । मैले पनि पुलिसलाई सोधेको छैन । अब यसबारे बुझ्नेछु,’ उनले भने । 
 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update