Odapalika - The Fourth Estate - चौथो अंग
४ स्थानीय तहले सहभागिता नजनाएको ‘लिजा’मा को बन्यो सर्वोत्कृष्ट? बिहीबार आउँदैछ नतिजा 

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा सर्वोत्कृष्ट अंक ल्याउने गाउँपालिका र नगरपालिकालाई सम्मान गर्ने भएको छ । 

स्थानीय तह समन्वय शाखाका अनुसार मन्त्रालयले स्थानीय तहले गरेको स्वमूल्यांकनलाई मन्त्रालयले गरेको गुणस्तर परीक्षणपछि उत्कृष्ट पालिकाको चयन भइसकेको छ । 

आर्थिक वर्ष २०७९/०८० को संस्थागत क्षमता स्वमूल्यांकन नतिजामा उत्कृष्ट हुने पालिकालाई मन्त्रालयले सम्मान गर्न लागेको हो ।

उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई मन्त्रालयले आगामी बिहीबार अर्थात ६ भदौमा मन्त्रालयमा भव्य कार्यक्रमबीच सम्मान गर्ने कार्यक्रम तय गरेको छ । 

उनका अनुसार उत्कृष्ट नतिजा ल्याउने ३ वटा गाउँपालिका र ३ वटा नगरपालिकालाई सम्मान गर्न लागिएको हो । 

विगतमा भन्दा स्थानीय तहहरुको संस्थागत क्षमतामा सुधार आएको छ  मन्त्रालयका अनुसार उत्कृष्ट अंक ल्याएर सम्मानित हुने पालिकाको घोषणासमेत सम्मान गर्ने दिन मात्रै सार्वजनिक गरिने छ । 

४ वटा स्थानीय तहले भने संस्थागत क्षमता स्वमूल्यांकन नै गराएका छैनन् । मन्त्रालयका अनुसार क्षिरेश्वरनाथ नगरपालिका, राप्ती नगरपालिका, हेलम्बु गाउँपालिका र विष्णुपुर गाउँपालिका भने स्वमूल्यांकनमा सहभागी नभएका कारण सम्मानको दौडमा अयोग्य भइसकेका छन् । 

स्थानीय तहको कार्यप्रक्रिया र उपलव्धिको लेखाजोखा गरी शासकीय प्रकृया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ्य प्रतिस्पर्धाको भावना जगाउन संस्थागत क्षमता स्वमूल्यांकन गराइदै आएको छ ।

यो स्थानीय तह आफैँले आफैँलाई मापन गर्ने विधि हो । स्थानीय तहले आफुले आफैँलाई दिएको अंकलाई मन्त्रालयले गुणस्तर परीक्षण गरेपछि उत्कृष्ट घोषणा गर्ने प्रचलन छ । 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update