Odapalika - The Fourth Estate - चौथो अंग
राष्ट्र बैंकमा थुप्रियो यो वर्षको बजेट बराबर डलर, बढ्ला त यो वर्ष ?

काठमाडौँ । नेपालको आयात व्यापार कमजोर हुँदा नेपाल राष्ट्र बैंकमा विदेशी मुद्रा थुप्रिएको छ । गत असार मसान्तसम्ममा राष्ट्र बैंकमा जम्मा भएको विदेशी मुद्रा नेपाल सरकारको चालु आर्थिक वर्षको बजेट बराबर हुन लागेको छ ।

राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको तथ्यांक अनुसार राष्ट्र बैंकमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा रहेको छ । संघीय सरकारले चालु आर्थिक वर्षको लागि १८ खर्ब ६० अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

सरकारको चालु खाता २ खर्ब २१ अर्ब ३४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष चालु खाता ४६ अर्ब ५७ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३६ करोड ६ लाखले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा १ अर्ब ६६ करोडले बचतमा रहेको छ ।

पुँजीगत ट्रान्सफर २२.९ प्रतिशतले कमी आई ५ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब ४० करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर ७ अर्ब ५४ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब १७ करोड रुपैयाँ रहेको थियो । 

शोधनान्तर स्थिति ५ खर्ब २ अर्ब ४९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २ खर्ब ८५ अर्ब ८२ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब १७ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा ३ अर्ब ७७ करोडले बचतमा रहेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update