Odapalika - The Fourth Estate - चौथो अंग
मंकीपक्सको जोखिममा नेपाल, स्वास्थ्य मन्त्रालयले गरायो स्थानीय तहलाई सतर्क

काठमाडौँ । सरकारले नेपाल पनि मंकीपक्सको जोखिममा रहेको भन्दै कल सेन्टर सञ्चालनमा ल्याएको छ ।  पछिल्लो वर्ष नेपालमा पनि एक जना ६० वर्षीय विदेशी महिलामा मंकीपक्स रोगको संक्रमण पुष्टि भएकाले नेपाल पनि यस रोगको जोखिममा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिए । 

उनका अनुसार मंकीपक्स संक्रमण नियन्त्रणका लागि पूर्वतयारी स्वरूप मन्त्रालयले विषय विज्ञसँग सुझाव लिइसकेको बताए । साथै मन्त्रालयले कल सेन्टर पनि सञ्चालनमा ल्याएको छ । 

कल सेन्टर १११५ सञ्चालनमा रहेको प्रवक्ता बुढाथोकीले जानकारी दिए । उनका अनुसार हवाई तथा जमिनका नाकाहरुमा रहेका हेल्थ डेस्कहरू तथा सरुवा रोगहरुको निगरानी (सर्विलेन्स) गर्ने तीनै तहका निकायहरुलाई सतर्क गराइसकेको र सबै प्रदेशमा यस रोगको निदान तथा व्यवस्थापनका लागि अस्पताल र चिकित्सक तोकिसकेको छ । 

मन्त्रालयको पूर्वतयारी प्रतिकार्य र व्यवस्थापन भए पनि आमनागरिकहरुबाट जनस्वास्थ्यका मापदण्डहरू पालना भएमा मात्र मंकीपक्सको रोकथाम र नियन्त्रणका लागि सम्भव हुने उनले बताए । सरकारले जनस्वास्थ्यका मापदण्ड पालना गर्न गराउन सबैलाई अनुरोध गरेको छ । 

केही समययता कंगोमा मंकीपक्स भाइरसका अधिक घातक संस्करण क्लेड १ बी का बिरामीहरू बढिरहेको र सन् २०२४ जनवरीदेखि हालसम्म यसका कारण कंगोमा ५४८ जनाको मृत्यु भइसकेको छ

सो भाइरस छिमेकी देशहरूमा पनि द्रूत रुपमा फैलिरहेकाले विश्व स्वास्थ्य संगठनले अफ्रिकामा भइरहेको मंकीपक्सको वृद्धिलाई १४ अगस्ट २०२४ मा विश्वव्यापी जनस्वास्थ्य आपतकालका रुपमा घोषणा गरेको छ ।

एम्पक्स रोग संक्रमित व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा (घाउ खटिरा विमिराको सम्पर्कः शरीरबाट निस्किएको तरल पदार्थ (जस्तै धुक, र्याल) को सम्पर्क भाइरसबाट दुषित सतह र सामग्रीको प्रत्यक्ष सम्पर्क) संक्रमित बाँदर, मुसा, लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मंकीपक्स संक्रमण भएमा ज्वरो आउने, सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिन भित्रमा छाला, अनुहार, हत्केला, र पैतालामा डाबर देखापर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुखे र शरीरका ग्रंथीहरू बढ्ने हुन्छ । आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने र मृत्युसमेत हुने सक्ने मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update