Odapalika - The Fourth Estate - चौथो अंग
सवारी दुर्घटनामा सर्केगाड गाउँपालिकाका उपाध्यक्ष कार्कीको मृत्यु

काठमाडौँ । हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा परेर निधन भएको छ । सर्खेतबाट नेपालगञ्ज आउने क्रममा भएको सवारी दुर्घटनामा परेर उपाध्यक्ष कार्कीको निधन भएको सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले जानकारी दिए । 

‘हिजो सुर्खेतबाट नेपालगञ्ज आउने क्रममा सवारी दुर्घटना भयो । सो दुर्घटनामा परी उपाध्यक्ष कार्कीको निधन भएको हो,’ उनले वडापालिकालाई भने । 

सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश ०२– ००१ख १०११ नम्बरको फोर्स गाडी सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ मा दुर्घटना भएको थियो । 

दुर्घटनामा परी गम्भीर घाइते भएका उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको अध्यक्ष रोकायाले बताए । 

शव हेलिकप्टरमा ल्याउने तयारी 

दिवंगत उपाध्यक्ष कार्कीको शव सर्केगाड गाउँपालिकामा ल्याउने तयारी भइरहेको अध्यक्ष रोकायाले जानकारी दिए । उनको शव हेलिकप्टरमा ल्याएर आजै दाहसंस्कार गर्ने विषयमा कुरा भइरहेको अध्यक्ष रोकायाले बताए । ‘हेलिकप्टरमार्फत् नेपालगञ्जबाट शव ल्याउने विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘गाउँमै शव ल्याएर आजै अन्तिम संस्कार गर्ने कुरा भइरहेको छ । यदी यहाँ शव ल्याइएन भने उतै (नेपालगञ्ज) दाहसंस्कारको काम हुन्छ । 

दिवंगत उपाध्यक्ष कार्कीको एक श्रीमती र एक छोरा रहेका अध्यक्ष रोकायाले बताए । दिवंगत कार्कीको श्रीमती जम्कीत लामा कार्की कर्णाली प्रदेशसभा सदस्य छिन् । 

गत स्थानीय तहको निर्वाचनमा कार्की नेकपा (माओवादी केन्द्र) को तर्फबाट उपाध्यक्ष पदमा निर्वाचत भएका थिए ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update