
काठमाडौँ । कांग्रेस–एमाले गठबन्धन सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाइएको प्रतिबन्ध खुला गर्ने तयारी थालेको छ । गत कात्तिक २७ गते तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सामाजिक सद्भाव बिगारेको भन्दै टिकटकलाई नेपालमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
यस निर्णयको पक्ष र विपक्षमा आवाज उठेका थिए । तर, सामाजिक सञ्जाललाई प्रतिबन्धन भन्दा पनि व्यवस्थित गर्नुपर्ने पक्षमा रहेका कांग्रेस–एमाले नै सरकारमा रहेका बेला नेपालका लागि चिनियाँ राजदूत छन सोङले टिकटकमाथिको प्रतिबन्ध फुकुवाका लागि दबाब दिइरहेका छन् । आफ्नो राजनीतिक भेटघाटका बेला उनले टिकटकमाथिको प्रतिबन्ध फुकुवाका लागि आग्रह गर्दै आएका छन् ।
साथै नेपालको नेपालको कानुन मान्ने भन्दै खुला गर्न पटक पटक नेपाल सरकारलाई टिकटकले समेत पत्राचार गर्दै आएको छ । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट सर्वाेच्च अदालतमा विचाराधीन छ ।
रिट विचाराधीन अवस्थामा रहेकाले सरकारले टिकटकबारे निर्णय लिन ढिलो गरिरहेका बेला राजदूत सोङको दबाब बढिरहेको एक नेताले जानकारी दिए । टिकटक खुला गर्ने विषयमा सरकार पनि छलफलमा रहेको र चाँडै निर्णय गर्ने तयारीमा पुगेको छ ।
सरकार गठनलगत्तै निर्णय गर्ने सोचमा गठबन्धनका नेताहरु भए पनि अदालतमा टिकटकसम्बन्धी मुद्दा विचाराधीन रहेको र भूराजनीतिकसँग जोडिएको भएकाले आवश्यक छलफलपछि निर्णयमा पुग्न लागेका हुन् ।
प्रधानमन्त्री ओली आफैं सामाजिक सञ्जालमा सक्रिय हुने नेतामा पर्छन् । उनको भेरिफाइड टिकटक एकाउन्ट पनि छ । यसअघि प्रधानमन्त्री हुँदा ओलीले टिकटक एकाउन्ट खोलेका थिए । प्रधानमन्त्री ओलीको ‘केपी बा’ युट्युब च्यानलसमेत छ ।
सामाजिक सञ्जालमा सक्रिय रहने प्रधानमन्त्री ओली पनि टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्दै व्यवस्थित गर्नुपर्ने पक्षमा छन् । यसबारे प्रधानमन्त्री ओलीले निर्देशनसमेत दिइसकेका छन् । प्रधानमन्त्री ओलीले सम्बन्धित् मन्त्रालयसहितलाई टिकटकको प्रतिबद्धताबारे छलफल अघि बढाउन निर्देशन दिएका छन् ।