Odapalika - The Fourth Estate - चौथो अंग
कलाकारको गाईजात्रा : ओलीदेखि गिरिजासम्मको क्यारिकेचर र व्यंग्य 

काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ विभिन्न कार्यक्रमसहित आरम्भ भएको छ । गाईजात्राको धार्मिक, सांस्कृतिक महत्व र विश्वाससँगै यो पर्व हाँस्यव्यंग्यसँग पनि जोडिएको छ । 

गाईजात्राको अवसरमा हाँस्यकलाकारहरुले सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा रहेका विकृति र विसंगतिलाई प्रस्तुत गर्ने गर्छन् । गाइजात्राको अवसरमा रिपोर्टर्स क्लब नेपालले हाँस्यकलाकारहरुसँग साक्षत्कार कार्यक्रम गरेको छ । 

हाँस्यकलाकार श्रीकृष्ण सिम्खडाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को क्यारिकेचर गरे ।

कलाकार सिम्खडाले ‘कहिले घाँस कहिले दाउरा, पधेरीमा पानी, घाँस, दाउरा, पानी गर्दै सकियो जवानी’ भन्ने गीतलाई प्यारोडी गाएका थिए । उनले प्यारोडीमा देशमा व्याप्त भ्रष्टाचार र युवाहरुको विदेश पलायनलाई समेटेका थिए । 

‘कहिले यती, कहिले ओम्नी, कहिले गिरीबन्धु कहानी, भुटानी शरणार्थीमा सुन्छु भाउजुको कहानी,’ उनले प्यारोडीमार्फत व्यंग्य गरेका थिए । 

बाल हाँस्यकलाकार सुयसा खनालले आफूलाई सबैभन्दा मनपर्ने पत्रकार ऋषि धमला रहेको बताउँदै राष्ट्रिय नाचघरमा जारी गाईजात्रामा पनि उनकै क्यारिकेचर गरेको बताइन् । उनले आफूले गरेको क्यारिकेचरको छोटो अंश पनि प्रस्तुत गरिन् ।

सुयसाले आफ्ना बाबु सन्तोष खनाललाई ऋषि धमला बनेर प्रश्नहरु सोधेकी थिइन् । सुयसाले गाइजात्रामा खस्किँदो अवस्थामा रहेको देशको शैक्षिक अवस्थाप्रति पनि ब्यङ्ग गरेकी छिन् । 

अर्का हाँस्यकलाकार दमन रुपाखेतीले आफूहरुले जति ब्यङ्ग्य गरेपनि नेताहरु नसुध्रिएको भन्दै असन्तुष्टि व्यक्त गरे । 

हाँस्यकलाकार दिनेश काफ्लेले यतिबेलका देशमा सबैलाई महँगी र भ्रष्टाचारले पिरेको बताए । उनले देशमा रोजगारी नपाएर दैनिक रुपमा विदेश पलायन भइरहेका युवाहरुको पीडालाई समेत प्रस्तुत गरे । उनले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको क्यारिकेचर गरेका थिए । 

हाँस्यकलाकार हिमेश पन्तले गाईजात्राको शुभकामना व्यक्त गरे । उनले राष्ट्रिय नाचघरमा हिजोबाट गाइजात्रा महोत्सव सुरु भएको र आगामी भदौ १० गतेसम्म निरन्तर चलिरहने जानकारी गराए । 

त्यसैगरी, अर्का हाँस्यकलाकार शिवशंकर रिजाल (जोगिन्दर पानवाला) ले विगत २१ वर्षदेखि निरन्तर गाईजात्रा निकाल्दै आएको बताए । यसपटक ओएसआर डिजिटलमार्फत ‘ठगठाग कम्पनी’ गाईजात्रा रिलिज गरेको जानकारी गराए । 

जोगिन्दरले सोही गाईजात्राको अंश प्रस्तुत गरे । उनले माओवादी अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री ओली, माधव नेपाल, शेरबहादुर देउवा, महन्थ ठाकुर, रवि लामिछाने, महेश बस्नेत, अशोक राई, बालेन शाहलगायतमाथि ब्यङ्ग्य गरेका थिए । 

हाँस्यकलाकार जितु नेपालले वर्षौदेखि गाईजात्रामा व्यंग्य गर्दापनि नेताहरु नसुध्रिएको बताए । उनले देश नबन्नुमा नेताहरुको हात छैनजस्तो लाग्नथालेको सुनाए । हाँस्यकलाकार नेपालले नेता होईन, अब देश सुध्रिएमात्रै नेपाल बन्ने बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भेटवार्तातर्फ लक्षित गर्दै उनले व्यंग्य गरे ।

कलाकार नेपालले हाँस्यव्यंग्य क्षेत्रलाई सामान्य औषधि र एन्टिबायोटिकले काम गर्न छाडेको बताए । उनले हाँस्यव्यंग्यमा अप्रेसनको आवश्यक्ता औंल्याए । ‘अहिलेको हाँस्यव्यंग्यलाई एन्टिबायोटिकले समेत काम नगर्ने अवस्था छ । अप्रेसन गर्नुपर्ने बेला आइसकेको छ । हामीले गर्ने हाँस्यव्याङ्ग्य पनि सामान्य औषधिजस्तो भइसकेको छ,’ उनले भने । 

हाँस्यकलाकार राजा राजेन्द्रले पत्रकार धमलाको क्यारिकेचर गरे । उनले पत्रकार धमलाले आफ्नो आलोचनालाई जहिले पनि स्वीकार गर्ने गरेको भन्दै उनले प्रशंसा गरे । राजा राजेन्द्रले स्वर्गीय पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला, महानायक राजेश हमाल, प्रधानमन्त्री ओली, शेरबहादुर देउवा, प्रचण्ड, डा.बाबुराम भट्टराइलगायतको क्यारिकेचर गरेका थिए । राष्ट्रिय नाचघरमा जारी गाइजात्रामा पत्रकार धमलाको पनि क्यारिकेचर रहेको बताउँदै हेर्न आउन निमन्त्रणा पनि दिए । 

अर्का हाँस्यकलाकार शैलेन्द्र सिम्खडाले आफूले ४५ वर्षदेखि निरन्तर गाइजात्राको प्रस्तुति गरिरहेको बताए । पहिला गाइजात्राको अवसरमा वर्षको एक हप्तामात्रै व्यक्ति तोकेर व्यंग्य गर्न पाइने अवस्था पनि उनले स्मरण गरे । सिम्खडाले गाइजात्राको अभिव्यक्तिलाई सहज रुपमा लिइदिन पनि आग्रह गरे । यसपटक प्रज्ञा भवनमा ५’शो र राष्ट्रिय नाचघरमा ११ शो गाइजात्रा प्रदर्शन गरिने पनि उनले जानकारी गराए । 

कार्यक्रममा उनले कवितामार्फत राजनीतिक नेतृत्वमाथि ब्यङ्ग्य गरे । उनले राजनीतिक व्यक्तित्वमाथि कवितामार्फत यसरी व्यंग्य गरेः 

‘श्रीमान् ममाथि लागेको आरोप मिथ्या छ  

मैले प्रष्ट भन्दा उहाँहरुले भ्रष्ट सुन्नुभो 

मैले गठबन्धन भन्दा उहाँहरुले ठगबन्धन सुन्नुभो  

मैले जोरपाटी भन्दा उहाँहरुले चोरपाटी सुन्नुभएछ  

मैले भुटनदेवीको दर्शनार्थी भनेको, 

उहाँहरुले भुटानी शरणार्थी सुन्नुभएछ  

मैले झापाको टी स्टेट कसले खाएको भनेको,

उहाँहरुले बालकोट बा सुन्नुभएछ । 

कार्यक्रममा कलाकार सुरेन्द्र केसी, पल्पसा डङ्गोललगायतको उपस्थिति र प्रस्तुति रहेको थियो । 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update