Odapalika - The Fourth Estate - चौथो अंग
अख्तियार र संघीय मामिलाको खबरदारीपछि देउमाई नगरपालिकाले स्थगित गर्‍याे एकल पुरुष भत्ता 

काठमाडौँ । इलामको देउमाइ नगरपालिकाले एकल पुरुषलाई उपलव्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता कार्यक्रम स्थगित गरेको छ । योसँगै तेस्रो लिंगीलाई दिने भनिएको भत्ता पनि स्थगित भएको छ । 

‘सामाजिक सुरक्षा कार्यक्रम’अन्तर्गत वितरण गर्दै आएको एकल पुरुष भत्ता, एकल महिला भत्ता (४५ वर्षमाथि), तेस्रो लिङ्गी भत्ता, ‘ग’ वर्ग अपाङ्गता भत्ता र ज्येष्ठ नागरिक पोशाक भत्ता वितरण कार्यक्रम स्थगन गरेको हो ।

सामाजिक सुरक्षा भत्ता वितरण नगर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र प्राप्त भएपछि कार्यपालिका बैठकको निर्णयानुसार अर्को निर्णय नभएसम्मका लागि सामाजिक सुरक्षा कार्यक्रम स्थगन गरिएको  प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर दाहालले जानकारी दिए । देउमाईले सुत्केरी स्याहार, दाहसंस्कार र दीर्घरोगी सहयोग कार्यक्रमलाई भने निरन्तरता दिएको छ । 

नगरपालिकाले गत आर्थिक वर्षमा १९८ जना एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता उपलव्ध गराएको बताएको छ । उनीहरुका लागि नगरपािलकाले २३ लाख २७ हजार रुपैयाा खर्च गरेको छ ।  

नगरभित्रका ६० वर्ष पुगेका अविवाहित, पत्नीसँग सम्बन्ध विच्छेद भई विवाह नगरेका ६० वर्ष पुषेका र पत्नीको मृत्यु भई अर्को विवाह नगरेका ६० वर्ष पुगेका पुरुषलाई मासिक १ हजार रुपैयाँ पालिकाले भत्ता दिदै आएको थियो ।

अघिल्लो आर्थिक वर्षमा नगरक्षेत्रका २०७ एकल पुरुषलाई २४ लाख ८४ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको थियो । देउमाईले ‘एकल पुरुष भत्ता वितरण सम्बन्ध कार्यविधि’ पारित गरी एकल पुरुषलाई भत्ता वितरण थालेको थियो ।

तेस्रो लिङ्गीका लागि मासिक ५०० रुपैयाँ भत्ता उपलब्ध गराउने व्यवस्था रहे पनि हालसम्म पालिकामा सो भत्ता एकजनाले पनि लगेका छैनन् । ‘ग’ वर्ग अपाङ्तागता भएका ९२ जनालाई ५ लाख ४५ हजार ५०० रुपैयाँ गत आर्थिक वर्षमा वितरण गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update