Odapalika - The Fourth Estate - चौथो अंग
नगरपालिकाका कर्मचारीविरूद्ध नक्कली प्रमाणपत्रको मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिका र कपिलवस्तुको यशोधरा गाउँपालिकाको कर्मचारीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । 

नक्कली शैक्षिक प्रमाणपत्र बुझाएको आरोपमा बिहीबार उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

स्याङ्जाको गल्याङ नगरपालिकास्थित श्री जगत्रदेवी स्वास्थ्य चौकीमा सिनियर अहेब अधिकृत छैठौं पदमा कार्यरत हिमा डुम्रे न्यौपानेविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बुझाएको अभियोगमा भ्रष्टाचारको मुद्दा दर्ता गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए । 

न्यौपानेको एसएलसी. तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीमाथि अनुसन्धान गर्दा न्यौपानेले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट हाइस्कुल तहको झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरी श्री करापु उपस्वास्थ्य चौकी, लमजुङमा ग्रामीण स्वास्थ्य कार्यकर्ता दोस्रो तह, रा.प.अनं. तृतीय (प्राविधिक) श्रेणीमा स्थायी नियुक्त लिएको दाबी अख्तियारको छ । 

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बुझाएर नियुक्त श्री जगत्रदेवी स्वास्थ्य चौकीमा सिनियर अहेब अधिकृत छैठौं पदसम्म कार्यरत रही लाभ लिई भ्रष्टाचार गरेको देखिएकोले उनलाई  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा ऐ. ऐनको दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदाबी लिई मुद्दा दर्ता गरिएको प्रवक्ता घिमिरेको भनाइ छ । 

यसैगरी, सोही प्रकृतिको अभियोग कपिलवस्तुको यशोधरा गाउँपालिकामा सिनियर अनमी. निरीक्षक (अधिकृत छैठौं) पदमा कार्यरत सरस्वती ओली (वली) क्षेत्रीविरुद्ध पनि भ्रष्टाचारको मुद्दा दर्ता गरिएको छ । 

यशोधरा गाउँपालिकामा कार्यरत मासिका. पदबाट नियुक्ति लिई कार्यरत रहेका हाल सिनियर अनमी पदमा स्तर वृद्धि भएका कर्मचारीले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पेस गरी हालसम्म जागिर गरिरहेकोले शैक्षिक योग्यताको प्रमाणपत्र छानबिनको माग गर्दै परेको उजुरीमाथि छानबिन गर्दा सरस्वतीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको ठहर अख्तियारको छ । 

सरस्वतीले अनमी विषय लिई प्राविधिक एसएलसी परीक्षा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र पोखराबाट उत्तीर्ण गर्दा, रजिष्टर्ड अनमी. नेपाल नर्सिङ काउन्सिलको दर्ता प्रमाणपत्र लिँदा, नेपाल स्वास्थ्य सेवाको सहायक पाँचौँ तहमा स्तर वृद्धि हुँदा र नेपाल स्वास्थ्य सेवाको अधिकृत छैठौं तहमा स्तर वृद्धि भई सिनियर अनमी निरीक्षक पद पाउन माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेशबाट हाईस्कूल परीक्षा पास गरेको भनी शैक्षिक योग्यताका नक्कली  प्रमाणपत्र पेस गरेको अख्तियारको दाबी छ । 

नक्कली प्रमाणपत्र पेस गरेर लाभ र सुविधा लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित कसुर गरेको पुष्टि हुन आएकाले सरस्वती ओली (वली) क्षेत्रीलाई सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई बिहीबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update