Odapalika - The Fourth Estate - चौथो अंग
ताराखोला गाउँपालिकाः सुत्केरीलाई अस्पतालमै राखेर भाले खुवाउने, डिस्चार्ज हुँदा चल्ला उपहार

काठमाडौँ । बाग्लुङको ताराखोला गाउँपालिकाले मातृशिशु स्वास्थ्यको क्षेत्रमा अनौठो र अनुकरणीय कार्यक्रम सुरु गरेको छ । नवजात शिशु  र सुत्केरी महिलाको स्वास्थ्यलाई ध्यानमा राखेर पोषण विशेष कार्यक्रम संचालन गरेको हो ।

यो कार्यक्रम अन्तरगत गर्भवती महिलालाई सुत्केरी हुने केही दिनअघि नै अनिवार्य रुपमा स्वास्थ्य संस्थामा ल्याउने र दक्ष स्वास्थ्यकर्मीको हेरचाहमा सुत्केरी गराउने प्रबन्ध मिलाइएको गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले जानकारी दिए ।

‘हाम्रा प्रत्येक वडामा स्वास्थ्य संस्था छन् । सुत्केरी हुने मितिभन्दा ५/७ दिन अघि नै गर्भवतीलाई गाउँपालिकाको एम्बुलेन्सबाट निःशुल्क रुपमा स्वास्थ्य संस्थामा ल्याउँछौं । स्वास्थ्य संस्थामा बस्ने, खाने जस्ता सुविधा छन् । त्यहाँ रहेका तामिलप्राप्त स्वास्थ्य स्वयम सेविकाले सुत्केरी गराउँछन् । सुत्केरी महिलालाई वडाअध्यक्षले एउटा भाले दिनुहुन्छ । सुत्केरी हुन्जेल भाले खान पाइन्छ । र, स्वमय सेविकाले अब घर पठाउँदा कुनै जोखिम छैन भनेपछि एउटा चल्लो उपहार दिएर पठाउँछौं,’ अध्यक्ष विकले वडापालिकासँग भने ।

यसका लागि गाउँपालिकाले स्वीटजरल्याण्डको एउटा सामाजिक संस्थासँग सहकार्य गरेको छ । बिवाइसी नामक सो संस्थाले गर्भवतीलाई सुत्केरी हुने समयसम्म र सुत्केरी भएपछि घर नपठाउँदासम्मको लागि केही व्यवस्था गर्न सहयोग गरेको छ । 

बिवाइसीले स्वास्थ्य संस्थामा गर्भवती महिलाको लागि सुत्न प्रयोग हुने पलङ, लत्ता कपडा र भाडाकुडाको व्यवस्था गरिदिएको छ । भाले भने वडाध्यक्षले आफ्नै खर्चमा व्यवस्था गरिदिन्छन् । र, खानको लागि चामल वा कोदोको पिठोको व्यवस्था भने सम्बन्धित परिवारले नै गर्नुपर्छ । 

‘गर्भवतीको एक जना सुसारेलाई पनि बस्नको लागि आवश्यक पूर्वाधार छन् । त्यहाँ बस्दाको बेग्ले आचारसंहिता छ । त्यसको पनि पालना गर्नुपर्छ,’ अध्यक्ष विकले भने । 

अहिले गाउँपालिकाको वडा नम्बर ३ बाट यो कार्यक्रम सुरु भएको छ । वडाध्यक्ष कर्णबहादुर भण्डारीले गर्भवतीलाई भाले दिन थालिसकेका छन् । अन्य वडामा पनि यो कार्यक्रम सुरु गर्ने अन्तिम तयारी भएको गाउँपालिका अध्यक्ष विकले जानकारी दिए । 

सुत्केरी महिलालाई चल्ला उपहार दिनुको कारण पनि उनले खुलाए ।

‘सुत्केरी भएपछि गाउँपालिकाको एम्बुलेन्सले निःशुल्क रुपमा घरमै पुर्याइदिन्छ । तर, घर पुगेपछि फेरि गाह्रोसारो काम गर्नुपर्ने हुनसक्छ । सुत्केरीले गह्रुगो काम गर्न सक्दैनन् । त्यसैले घर जाँदा एउटा चल्ला उपहार दिएर पठाउँछौं । उनले त्यही चल्लाको हेरचाह गर्ने हो । चल्ला ठुलो भएपछि बेचेर पैसा लिए पनि भयो, काटेर खाए पनि भयो, त्यो चल्ला हुकाृउनु चै पर्छ,’ अध्यक्ष विकले थपे ।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update