Odapalika - The Fourth Estate - चौथो अंग
निलकण्ठ र बेनीघाट रोराङ सर्वोत्कृष्ट पालिका, यी हुन लिजामा उत्कृष्ट बनेर सम्मान पाउने स्थानीय तह 

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा सर्वोत्कृष्ट अंक ल्याउने ३ वटा गाउँपालिका र ३ वटा नगरपालिकालाई सम्मान गरेको छ । 

मन्त्रालयमा आयोजित एक समारोहबीच ती पालिकालाई सम्मान गरिएको हो । 

स्थानीय तह समन्वय शाखाका अनुसार मन्त्रालयले स्थानीय तहले गरेको स्वमूल्यांकनलाई मन्त्रालयले गरेको गुणस्तर परीक्षणपछि उत्कृष्ट पालिकाको चयन गरिएको हो । 

उत्कृष्ठ नतिजा ल्याउने नगरपालिकामा धादिङको निलकण्ठ नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र चितवनको रत्ननगर नगरपालिका छन् । मन्त्रालयको मूल्यांकनमा उनीहरुले लिजामा क्रमश ९२.५, ९२ र ९१.५० अंक पाएका छन् । 

गाउँपालिका तर्फ धादिङको बेनीघाट रोराङ, गुल्मीको रुरक्षेत्र र सिनधुपाल्चोकको इन्द्रवती गाउँपालिका छन् । उनीहरुले क्रमश ८७।२५ र ८७ अंक ल्याएका छन् ।  

आर्थिक वर्ष २०७९ ०८० को संस्थागत क्षमता स्वमूल्यांकन नतिजामा उत्कृष्ट हुने पालिकालाई मन्त्रालयले सम्मान गरेको हो ।

४ वटा स्थानीय तहले भने संस्थागत क्षमता स्वमूल्यांकन नै गराएका छैनन् । मन्त्रालयका अनुसार क्षिरेश्वरनाथ नगरपालिका, राप्ती नगरपालिका, हेलम्बु गाउँपालिका र विष्णुपुर गाउँपालिका भने स्वमूल्यांकनमा सहभागी नभएका कारण सम्मानको दौडमा अयोग्य थिए ।

स्थानीय तहको कार्यप्रक्रिया र उपलव्धिको लेखाजोखा गरी शासकीय प्रकृया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ्य प्रतिस्पर्धाको भावना जगाउन संस्थागत क्षमता स्वमूल्यांकन गराइदै आएको छ ।

यो स्थानीय तह आफैँले आफैँलाई मापन गर्ने विधि हो । स्थानीय तहले आफुले आफैँलाई दिएको अंकलाई मन्त्रालयले गुणस्तर परीक्षण गरेपछि उत्कृष्ट घोषणा गर्ने प्रचलन छ ।
 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update