Odapalika - The Fourth Estate - चौथो अंग
चारबुँदे सहमतिपछि आमरण अनशन तोडे वडा अध्यक्षले, मुख्यमन्त्रीले खुवाए जुस

काठमाडौँ । धनुषा र सिरहा जोड्ने कमला नदीमा नयाँ पुल बनाउन प्रादेशिक सरकार सहमति भएपछि चार दिनदेखिको आमरण अनशन वडा अध्यक्षसहित स्थानीयले तोडेका छन् । 

नयाँ पुल निर्माणको माग गर्दै गएको मंगलबारदेखि जनकपुरधामस्थित मधेश प्रदेश मुख्यमन्त्री कार्यालयअगाडि कमला पुल निर्माण संघर्ष समिति सिरहा–धनुषाको अगुवाइमा वडा अध्यक्षसहित स्थानीय आमरण अनशनमा बसेका थिए । 

सिरहा–६ का वडाध्यक्ष गोठिया, सिरहाको औरही–४ का वडाध्यक्ष सुरेन्द्रकुमार यादव, सिरहा नगरपालिका–४ का वडाध्यक्ष शमशाद आलम, सिरहा–८ का वडा सदस्य रुपेश यादव, सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र साह, शैलेशकुमार गोइत, मनिष यादव र शिवशंकर यादवलगायत १० जना आमरण अनशन बसेका थिए । 

तर, उनीहरुको स्वास्थ्य अवस्था गम्भीर हुँदा पनि प्रादेशिक सरकारले चासो नदिएको भन्दै आलोचना भइरहेका बेला शुक्रबार बिहान मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह अनशनस्थलमै पुगेर उनीहरुसँग चारबुँदे सहमति गरे । सरकारसँगको सहमतिपछि अनशन तोडेको सिरहाको सिरहा नगरपालिका–६ का वडा अध्यक्ष ईन्द्रजित कुमार गोठियाले वडापालिकालाई जानकारी दिए । 

चारबुँदे सम्झौता गर्दै मुख्यमन्त्री सिंहले अनशनकारीलाई जुस खुवाएर अनशन तोडाएका हुन् । 

सहमतिमा नयाँ कमला पुल निर्माण गरिने, नयाँ पुल निर्माणका लागि आव २०८२÷०८३ को वार्षिक बजेट संघ सरकारबाट राख्न पहल गर्ने र नभएमा सम्पूर्ण बजेट मधेश सरकारको स्रोतबाटै व्यहोर्ने, २०८१ मंसिर १ भित्रमा पुल निर्माणको डीपीआर तयारीका लागि बोलपत्र आह्वान गर्ने र नयाँ कमला पुल निर्माण संघर्ष समितिले संघर्षका सम्पूर्ण कार्यक्रम फिर्ता लिने उल्लेख छ । 

सहमतिसँगै आफूहरुको आमरण अनशन तोडेको वडा अध्यक्ष गोठियाले जानकारी दिए । सिरहा र धनुषा जोड्ने कमल नदीमा बनाएको पुल कमजोर भएकाले नयाँ पुल निर्माणको माग राखेर आफूहरु आमरण अनशनमा बसेको उनको भनाइ छ । आफूहरुको मागमा प्रदेश सरकार सहमत भएको उनले बताए । 

यसअघि प्रादेशिक सरकारसहितलाई पटक ध्यानाकर्षण गराउँदा पनि चासो नदिएपछि आमरण अनशन नै बस्न् परेको उनले बताए । यसअघि उनीहरु रिले अनशनसमेत बसेर सरोकारवालाको ध्यानाकर्षणसमेत गराएका थिए ।

गत साता मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई नयाँ पुल निर्माणको प्रक्रिया अगाडि बढाउन माग राखेर ७ दिन अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाइएको थियो । 

agrement-1724395271.jpeg
 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update