Odapalika - The Fourth Estate - चौथो अंग
मधेश र गण्डकीमा झरी नरोकिदा अन्य प्रदेशमा मौसम खुल्दै 

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आजबाट मौसममा सुधार आउने जनाएको छ । तर,गण्डकी प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको जनाएको छ । 

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । बंगलादेशको उत्तरी भू–भागमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेकोले अहिले कोशी प्रदेशका केही स्थानमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक÷दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । साथै, आज देशभर आंशिकदेखि सामान्य बदली रहने संभावना रहेको विभागले जनाएको छ ।

मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा हावा–हुरीको समेत सम्भावना रहेको विभागले जनाएको छ । आइतबार राति भने देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ । 

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

पछिल्लो २४ घण्टामा मधेश प्रदेशमा भारी वर्षा भएको छ । सबैभन्दा धेरै जनकपुमा ९५ दशमलव १ मिलिमिटर वर्षा भएको छ । यस्तै, धनगढीमा ८७ दशमलव ९, सिमरामा ५९ दशमलव ८, घोरहीमा १८ दशमलव ९ तथा काठमाडौंँमा १३ दशमलव७ मिलिमिटर वर्षा मापन भएको छ । 

मधेश प्रदेशका बारा, धनुषालगायतका जिल्लामा पछिल्लो ४ घण्टामा भारी वर्षा भइरहेको जनाउँदै महाशाखाले बाढी आउनसक्ने भन्दै उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।   

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ०७:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update