Odapalika - The Fourth Estate - चौथो अंग
संस्थागत क्षमतामा महानगरहरू कमजोर, ललितपुर पहिलो बन्दा वीरगञ्ज अन्तिममा 

काठमाडौँ । स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा महानगरमध्ये ललितपुर महानगरपालिका उत्कृष्ट देखिएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहको लिजा प्रतिवेदन सार्वजनिक गरेको छ । सो प्रतिवेदनमा ललितपुर उत्कृष्ट देखिदा वीरगञ्ज महानगर सबैभन्दा कमजोर देखिएको छ । 

देशका ६ वटा महानगरभन्दा गाउँपालिका र नगरपालिकाको नतिजा नै उत्कृष्ट देखिएको हो । 

स्थानीय तहहरुले निश्चित मापदण्डको आधारमा गरेको स्वमूल्यांकनलाई मन्त्रालयले अन्तिम गुणस्तर परीक्षण गरेपछि नतिजा सार्वजनिक गरेको हो । 

मन्त्रालयले बिहीबारमात्र लिजामा सर्वोत्कृष्ट भएका ३ वटा नगरपालिका र ३ वटा गाउँपालिकालाई सम्मान गरिसकेको छ । 

स्थानीय तहहरुको कार्यप्रकृया र उपलव्धिको लेखाजोखा गरी शासकीय र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्र पहिचान गर्न स्वामूल्यांकन गरिदै आएको छ । लिजाले स्थानीय तहको आवधिक समीक्षाको आधार प्राप्त हुने र स्थानीय सरकारबीच यी प्रकृयामा प्रतिस्पर्धा गराउने काम गर्छ । 

सार्वजनिक प्रतिवेदनअनुसार लिजामा १०० अंकमध्ये विराटनगर महानगरपालिकाले ८२.५०, वीरगञ्ज महानगरपालिकाले ५९.५० अंक, काठमाडौँ महानगरपालिकाले ७७.५० अंक, ललितपुर महानगरपालिकाले ८४.५० अंक, भरतपुर महानगरपालिकाले ८३.२५ अंक र पोखरा महानगरपालिकाले ८०.७५ अंक पाएको उल्लेख छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update