Odapalika - The Fourth Estate - चौथो अंग
दाेरम्बा शैलुङ गाउँपालिकामा पहिरो, ६ जनाको मृत्यु, ४ बेपत्ता 

काठमाडौँ । रामेछापको दाेरम्बा शैलुङ गाउँपालिका–३ मा गएराति पहिरोले ३ घर पुरिँदा ६ जनाको मृत्यु भएको छ भने अन्य ४ जना हराइरहेका छन् । एक जनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त पालिकाको वडा नं ३ मा खसेको पहिरोमा परी ३० वर्षीया चण्डीका श्रेष्ठ र निजका १८ महिनाका छोरा आयुष,  ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षका सन्दिप पहरी, ११ वर्षका सन्तोष पहरी र १४ वर्षका विज्ञान पहरीको मृत्यु भएको हो । ११ वर्षीया अञ्जना श्रेष्ठ घाइते भएकी छन् । उनको कम्मरभन्दा मुनिको भाग चलेको छैन । 

गाउँपालिकाकी उपाध्यक्ष खमला थापामगरका अनुसार गएराति पहिरो खसेको हो । घटनाबारे जानकारी पाउनासाथ स्थानीय, प्रहरी र नेपाली सेनाका जवान उद्धार र खोजीमा जुटेका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले बताए । पहिरोले वडा नं २ र ३ को सिमाना भएर बग्ने अँधेरी खोलको पक्की पुल पनि बगाएको छ ।
 

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update