Odapalika - The Fourth Estate - चौथो अंग
संस्थागत क्षमतामा कर्णालीका स्थानीय तह : त्रिवेणी नलगाड पहिलो बन्दा १३ पालिकाले ल्याए डिस्टिङसन

काठमाडौँ । स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा कर्णाली प्रदेशका १३ स्थानीय तहले ८० अंक कटाएर डिस्टिङसन हासिल गरेका छन् ।

यो प्रदेशमा रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, जाजरकोट, दैलेख र सुर्खेत गरी १० जिल्ला छन् । १० जिल्लामा रहेका ८९ स्थानीय तहमध्ये १३ पालिकाले डिस्टिङसन हासिल गरेका हुन् । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गएको बिहीबारसार्वजनिक प्रतिवेदनअनुसार उनीहरुले डिस्टिङसन ल्याएका हुन् । 

कर्णाली प्रदेशमा २५ नगरपालिका र ५४ गाउँपालिका छन् । यी सबैलाई उछिनेर जाजरकोटको त्रिवेणी नलगाड नगरपालिकाले सबैभन्दा बढी ८८ अंक ल्याएर पहिलो स्थान हासिल गरेको छ । योबाहेक १२ स्थानीय तहले ८० अंक कटाएर डिस्टिङसन ल्याएका हुन् । 

दैलेखका डुंगेश्वर गाउँपालिकाले ८५.५०, दुल्ली गाउँपालिकाले ८५.५०, भगवती गाउँपालिकाले ८५.५० र सुर्खेतको गुर्भाकोट नगरपालिकाले ८५ अंक ल्याएका छन् । यस्तै जुम्लाको कनका सुन्दरी गाउँपालिकाले ८४.५०, कालीकोटका नरहरिनाथ गाउँपालिकाले ८३.२५ र तिलगुफा नगरपालिकाले ८३ र डोल्पाको काइके गाउँपालिकाले ८३.२५ अंक ल्याएका छन् । 

पश्चिक रुकुमको त्रिवेणी गाउँपालिकाले ८२.५०, डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकाले ८१.७५, रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले ८०.५० र जुम्लाको हिमा गाउँपालिकाले ८०.५० अंक ल्याएका हुन् । 

स्थानीय तहहरूले निश्चित मापदण्डको आधारमा गरेको स्वमूल्यांकनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गएको बिहीबार अन्तिम गुणस्तर परीक्षण गरेपछि नतिजा सार्वजनिक गरेको हो । 

स्थानीय तहहरुको कार्यप्रक्रिया र उपलव्धिको लेखाजोखा गरी शासकीय र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्र पहिचान गर्न स्वामूल्यांकन गरिँदै आएको छ । लिजाले स्थानीय तहको आवधिक समीक्षाको आधार प्राप्त हुने र स्थानीय सरकारबीच यी प्रक्रियामा प्रतिस्पर्धा गराउने काम गर्छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update