Odapalika - The Fourth Estate - चौथो अंग
दोरम्बा पहिरो : यसरी हुँदै छ उद्धार, ४५ घर अझै जोखिममा 

काठमाडौँ । रामेछापको शैलुङ गाउँपालिका–३, टोकरपुरमा शनिबार राति गएको पहिरोमा बेपत्ता भएका चारजनाको खोजी कार्य सकसपूर्ण बनेको छ । सो पहिरोमा परेका ६ जनाको शव फेला परे पनि चारजनालाई फेला पार्न नसकेको दोरम्बा शैलुङ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सन्तलाल थापामगरले वडापलिकालाई जानकारी दिए । 

उनका अनुसार पहिरोमा फड्की पहरी, काले पहरी, झ्याउकिरी पहरी र बिन्दा पहरी बेपत्ता छन् । बिहान ६ बजेबाटै थालिएको उद्धार कार्य कार्यमा ६ जनाको शव फेला परेको वडा अध्यक्ष थापामगरले जानकारी दिए । उनले ढुंगासहित खसेको पहिरोका कारण चारजनाको खोजी कार्य सकसपूर्ण बनेको बताए । बेपत्ता चारजना जीवितै फेला पर्ने आशसमेत मरेको उनले बताए । ‘बेपत्ता भएका चारजना पनि जीवितै फेला पर्ने आश छैन,’ उनले भने, ‘तर, भोलि (सोमबार) पनि खोजी कार्य जारी राख्ने कुरा छ ।’ 

आइतबार बिहानैबाट नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी गरी करिब एक सय जनाको सुरक्षाकर्मीको टोली र स्थानीय उद्धार कार्यमा लागेका वडा अध्यक्ष थापामगरले बताए । 

६ जनाको शव फेला 

पहिरोले चारवटा घर र दोरम्बा गाउँपालिका वडा नम्बर ३ र २ को बीचमा रहेको पक्की पुल बगाएको छ । पहिरोले घर बगाउँदा ६ जनाको शव फेला परेको छ भने एकजना गम्भीर घाइते भएका छन् । चारजना अझै फेला पर्न सकेका छैनन् । पहिरोमा परेका ६ जनाको शव फेला परेको वडा अध्यक्ष थापामगरले जानकारी दिए । उनका अनुसार ३० वर्षीया चण्डिका श्रेष्ठ, डेढ वर्षका आयुष श्रेष्ठ, ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी र १४ वर्षीय विज्ञान पहरीको मृत्यु भएको हो । पहिरोमा परी ११ वर्षीया अञ्जना श्रेष्ठ घाइते भएकी छन्। उनको अवस्था गम्भीर छ।

उद्धार कार्यमा पानी बाधक 

उद्धार कार्यमा पानी बाधक बनेको छ । बेपत्ता चारजनाको खोजी कार्य पानी पर्ने भएपछि आइतबारका लागि रोकिएको छ । ४ बजेबाट परेको पानी ५ बजेसम्म नरोकिएको वडा अध्यक्ष थापामगरले जानकारी दिए । उनीहरुको खोजी आइतबार अपरान्ह ३ बजेसम्म गरिएको थियो । ‘पानी पर्ने भएपछि ३ बजेपछि खोजी कार्य आजलाई रोकेका छौँ । करिब ४ बजेदेखि परेको पानी ५ बजेसम्म रोकिएको छैन,’ उनले भने, ‘सेनासहितको उद्धार टोली फर्किसकेको छ ।

आइतबारका लागि उद्धार कार्य रोकिएसँगै प्रमुख जिल्ला अधिकारी अनिता निरौलासहित सुरक्षाकर्मीको टोली फर्किएको वडा अध्यक्ष थापामगरले जानकारी दिए । 

४५ घरधुरी विस्थापित 

दोरम्बा शैलुङ गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोबाट ४५ घर जोखिममा परेका वडा अध्यक्ष थापामगरले जानकारी दिए । ४५ घरका करिब १३० जना विस्थापित भएका र उनीहरुलाई विद्यालय र पालिकाको कार्यालयमा राखिएको उनले जानकारी दिए । 

केही दिनयता परेको पानीले दोरम्बा शैलुङका विभिन्न स्थानमा पहिरोको जोखिम बढेृको उनले जानकारी दिए । 
 

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update