Odapalika - The Fourth Estate - चौथो अंग
सर्वसाधारणमाथि महानगर प्रहरीको निरन्तर ज्यादती, चिया व्यापारीमाथि धरपकड गर्ने प्रहरीलाई सोधियो स्पष्टीकरण 

काठमाडौँ । प्रचलित कानुनले स्थानीय तहलाई नगर प्रहरी नियुक्त गर्न र परिचालन गर्न अनुमति दिएको छ । सोही अनुमतिका आधारमा नगर प्रहरी परिचालन गरिरहेका स्थानीय तहहरु भने पछिल्ला दिन कानुनले दिएको अधिकारभन्दा बाहिर गएर धरपकड गर्न थालेका छन् । 

काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले  कानुनले दिएको अधिकारभन्दा बाहिर गएर नागरिक धरपकड गर्न थालेपछि चौतर्फी आलोचना भएको छ । 

महाराजगञ्जको गंगालाल अस्पताबाहिर चिया बेच्ने व्यापारीलाई नगर प्रहरीले लछारपछार गर्दै नियन्त्रणमा लिएको दृष्य सामाजिक सञ्जालमा भाइरहल भएपछि नगर प्रहरीलाई यो अधिकार छ कि छैन भन्ने प्रश्न उठेको छ । 

काठमाडौँ महानगरपालिकाले बनाएको महानगर प्रहरी ऐन २०८० ले नगर प्रहरीलाई आत्मरक्षाका लागि बाहेक बल प्रयोग गर्न, धरपकड गर्न र मानिस नियन्त्रणमा लिन बर्जित गरेको छ । 

तर वरिष्ठ प्रहरी उपरिक्षकको नेतृत्वमा रहेको महानगर प्रहरी बलले भने निरन्तर मान्छे पक्रने र अमानवीय ढंगले धरपकड गर्ने गरिरहेको छ । 

महानगर ऐनले नगर प्रहरीलाई आधुनिक हतियार मात्र होइन लौरो समेत बोक्न प्रतिवन्ध लगाएको छ । तर प्रहरीले भने ऐन विपरित लौरो लगायतका हतियारले नागरिकमाथि प्रहार गर्न थालेको छ । 

महाराजगञ्ज घटनामा नगर प्रहरीले अस्वभाविक बल प्रयोग गरेको र अमानवीय ढंगले नियन्त्रणमा लिएको भन्दै आलोचना भएपछि भने बल्ल नगर प्रहरीमाथि एक्सन सुरु भएको छ । 

महानगर प्रहरी बल श्रोतका अनुसार सो घटनामा संलग्न नगर प्रहरीलाई स्पष्टीकरण सोध्ने काम भएको छ । 

कानुनले दिएको अधिकार भन्दा बाहिर गएर धपकड गरेको देखिएको भन्दै डिउटीमा खटिएका र डिउटीको कमाण्ड गर्ने नगर प्रहरीलाई स्पष्टीकरण सोधिएको नगर प्रहरी उच्च श्रोतले वडापालिकालाई जानकारी दिएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update