Odapalika - The Fourth Estate - चौथो अंग
ललितपुर महानगरले ल्यायो सडक पखाल्ने यन्त्र 

ललितपुर । ललितपुर महानगरपालिकाले महानगरभित्रका सडकको धुलो पखाल्न ‘रोड वासर कम स्प्रिङकल’ को प्रयोग गर्न थालेको छ । 

२ वटा यस्ता साधनमार्फत महानगरभित्रका सडकका धुलो सफा गर्न थालिएको महानगरले जनाएको छ । 

यो साधनको पानी ट्यांकीबाट निस्कने पानीको फोहोरले सडकको धुलो  पखाल्छ । सडकको किनारामा रोपिएको विरुवामा पानी हाल्न र हिउँदमा धुलोले ढाकिएको विरुवा पखाल्नसमेत यसको प्रयोग गर्न मिल्ने ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए । 

उनले भने, ‘यो एउटा साधनले सडकको धुलो पखाल्ने, विरुवामा पानी हाल्ने र धुलाम्य भएको विरुवामा पानी हालने काम गर्छ ।’ 

नगर प्रमुख महर्जनले सफा र हरियाली स्मार्ट सडकको अवयव भएको बताउँदै सहरलाई सफा बनाउन र हरियाली प्रवद्र्धनका लागि यो साधन खरिद गरेको बताए । ललितपुर महानगर १ करोड २२ लाख ८५ हजारमा ‘रोड वासर कम स्प्रिङकल खरिद गरेको हो । 

प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले रोड वासर कम स्प्रिङकलले सहरलाई सफा बनाउन र सुन्दर बनाउन सहयोग गर्ने बताए । 

उनले भने, ‘महानगरपालिकाभित्र आवश्यकता अनुसार समय तालिका बनाएर प्रयोगमा ल्याउँछौं ।’ प्राविधिकहरुका अनुसार यसले आगलागीको बेला आगो निभाउन सहयोग गर्नेछ । ललितपुर महानगरले यसअघि अव्यवस्थित ढंगबाट टाँगिएका तार काट्ने अग्लो मेसिन समेत प्रयोगमा ल्याइसकेको छ ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update