Odapalika - The Fourth Estate - चौथो अंग
बालेन शाहलाई उछिनेका काठमाडौँ यी दुई पालिका, जसले डिस्टिङसन ल्याए 

काठमाडौँ । काठमाडौँ जिल्लामा एक महानगरपालिकासहित ११ स्थानीय तह छन् । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र शाह (बालेन) निर्वाचित भएपछि यसले देशविदेशमा चर्चा पायो । उनको कायैशैली र सामाजिक सञ्जालमा हुने सक्रियताले बेला बेलामा चर्चा बटुल्ने गरेको छ । 

संघीय सरकार र राजनीतिक दलका शीर्षनेतामाथि गरिने मेयर बालेनको टिप्पण तथा प्रतिक्रियाले राजनीति वृत्त र समाजमा सनसनी मच्चिने गरेको छ । 

तर, उनै बालेन नेतृत्वको काठमाडौँ महानगरलाई स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा दुई पालिकाले उछिनेका छन् । यही भदौ ६ गते संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७९÷०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)को नतिजा सार्वजनिक गरेको थियो । स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनका १० वटा विषयगत क्षेत्रहरू छन्  । विषयगत क्षेत्र अन्तर्गत जम्मा १०० वटा सूचकहरू रहेका छन् ।

यी सूचकका आधारमा सार्वजनिक गरिएको लिजामा काठमाडौं महानगरलाई दुई पालिकाले उछिनेका हुन् । सबैभन्दा बढी अंक ल्याउने तारकेश्वर नगरपालिका छ भने सबैभन्दा कम शंकरापुर नगरपालिकाले अंक ल्याएको छ । ७७.५० अंक ल्याएर तेस्रो स्थान रहेको काठमाडौं महानगरलाई उछिनेर तारकेश्वर नगरपालिकाले ८०.७५ र टोखा नगरपालिकाले ८० अंकसहित डिस्टिङसन ल्याएका छन् । 

यसैगरी, बूढानीलकण्ठ नगरपालिकाले ७७, कीर्तिपुर नगरपालिकाले ७६.५०, नागार्जुन नगरपालिकाले ७५, चन्द्रागिरी नगरपालिकाले ७२.७५, गोकर्णेश्वर नगरपालिकाले ६९.२५, कागेश्वरी मनोहरा नगरपालिकाले ६३.५०, दक्षिणकाली नगरपालिकाले ६३.५० र शंकरापुर नगरपालिकाले ६३.२५ अंक ल्याएका छन् । 
 

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update