Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौंमा सेवा प्रवाहमा नागार्जुन अगाडि, भौतिक पूर्वाधारमा काठमाडौं महानगर

काठमाडौँ । काठमाडौँ जिल्लामा एक महानगरपालिकासहित ११ स्थानीय तह छन् । यी ११ स्थानीय तहमध्ये सेवा प्रवाहमा नागार्जुन नगरपालिका अगाडि रहेको छ भने भौतिक पूर्वाधारमा काठमाडौँ महानगर एक नम्बरमा परेको छ । 

यही भदौ ६ गते संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)को नतिजाअनुसार सेवा प्रवाहमा १३.७५ अंक ल्याएर नागार्जुन नगरपालिकाका काठमाडौँ जिल्लाको पहिलो नम्बरमा परेको छ । 

नागार्जुनलाई पछ्याउँदै कीर्तिपुर नगरपालिकाले १३ अंक ल्याएर दोस्रो बनेको छ भने बूढानीलकण्ड नगरपालिकाले १२.७५ र काठमाडौं महानगरले १२.२५ अंक ल्याएका छन् । बाँकी पालिकाले सेवा प्रवाहमा सामान्य अंक ल्याएका छन् । 

यस्तै भौतिक पूर्वाधारमा भने काठमाडौं महानगरपालिका अगाडि छ । सामान्य अंकले आफूलाई भौतिक पूर्वाधारमा पहिलो नम्बरमा राख्न सफल भएको काठमाडौं महानगरले ९.२५ अंक पाएको छ । काठमाडौं महानगरलाई झिनो अंक अन्तरले पछ्याएका तारकेश्वर नगरपालिकाले ९, बूढानीलकण्ठ नगरपालिकाले ९ र टोखा नगरपालिकाले ८.५ अंक ल्याएका छन् । बाँकी पालिकाले सामान्य अंक ल्याएका छन् । 

समग्रमा तारकेश्वर पहिलो, शंकरापुर पुछारमा 

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनका १० वटा विषयगत क्षेत्रहरू छन्  । विषयगत क्षेत्र अन्तर्गत जम्मा १०० वटा सूचकहरू रहेका छन् । यी सूचकका आधारमा संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७९÷०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)को सार्वजनि गरेको छ । 

यी सूचकका आधारमा सार्वजनिक गरिएको लिजामा समग्रमा काठमाडौं महानगरलाई दुई पालिकाले उछिनेका हुन् । सबैभन्दा बढी अंक ल्याउने तारकेश्वर नगरपालिका छ भने सबैभन्दा कम शंकरापुर नगरपालिकाले अंक ल्याएको छ । ७७.५० अंक ल्याएर तेस्रो स्थान रहेको काठमाडौं महानगरलाई उछिनेर तारकेश्वर नगरपालिकाले ८०.७५ र टोखा नगरपालिकाले ८० अंकसहित डिस्टिङसन ल्याएका छन् । 

यसैगरी, बूढानीलकण्ठ नगरपालिकाले ७७, कीर्तिपुर नगरपालिकाले ७६.५०, नागार्जुन नगरपालिकाले ७५, चन्द्रागिरी नगरपालिकाले ७२.७५, गोकर्णेश्वर नगरपालिकाले ६९.२५, कागेश्वरी मनोहरा नगरपालिकाले ६३.५०, दक्षिणकाली नगरपालिकाले ६३.५० र शंकरापुर नगरपालिकाले ६३.२५ अंक ल्याएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update