Odapalika - The Fourth Estate - चौथो अंग
तलब भत्ता स्थानीय तहबाट खाने अधिकृतले काम मन्त्रीको निजी सचिवालयमा गर्ने 

काठमाडौँ । कञ्चनपुरको पुनर्वास नगरपालिकामा कार्यरत छैटौँ तहका अधिकृतलाई प्रादेशिक मन्त्रीको निजी सचिवालयकाे काममा खटाइएको छ । पारिश्रमिक पुनर्वास नगरपालिकाबाट खानेगरी सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको निजी सचिवालयमा काम गर्नेगरी खटाइएको हो । 

नगरपालिकालको सहमतिमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चलानी नम्बर १२९ र मिति २०८१/०५/०२ को पत्रानुसार सुदूरपश्चिम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ती अधिकृतलाई मन्त्रीको निजी सचिवालयमा खटाएको हो । 

पुनर्वास नगरपालिकाको अधिकृत (छैटौँ) शंकर बोगटीलाई मन्त्रीको निजी सचिवालयमा काममा खटाइएको छ । तर, उनले तलबभत्ता भने पुनर्वास नगरपालिकाबाटै खाने भएका हुन् । 

स्थानीय तहको सरकारबाट तलब खानेगरी प्रादेशिक सरकारका मन्त्रीको निजी सचिवालयमा काममा लगाउने कार्य भने संघीय सरकारले गरेको छ । 


संघीय सरकारले मुख्यमन्त्री कार्यालयलाई लेखेको पत्र :

मितिः २०८१/०५/०२
पत्र संख्याः २०८१/०८२
चलानी नंः १२९

श्री मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुदुरपश्चिम प्रदेश, धनगढी, कैलाली ।

विषयः कामकाज सम्बन्धमा ।

प्रस्तुत विषयमा तहाँको च.नं. १०३. मिति २०८१/०४/३१ को पत्र तथा पुनर्वास नगरपालिका, कञ्चनपुरको च.नं. १६९, मिति २०८१÷०४÷३० को सहमति पत्र अनुसार पुनर्वास नगरपालिका, कञ्चनपुरमा प्रशासन सेवा, सामान्य प्रशासन समूह, अधिकृतस्तर छैटौं तहमा कार्यरत श्री शंकर बोगटी (कर्मचारी संकेत नं. २३७५४०) लाई पदाधिकार रहेकै निकाय (पुनर्वास नगरपालिका, कञ्चनपुर) बाटै तलब भत्ता भुक्तानी हुने गरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सुदुरपश्चिम प्रदेशका माननीय मन्त्रीज्यूको निजी सचिवालयमा कामकाज गर्न खटाइएको व्यहोरा यस मन्त्रालयको मिति २०८१÷०५÷०२ गतेको निर्णयानुसार अनुरोध छ

 

संघीय सरकारको पत्र पाएपछि मुख्यमन्त्री कार्यालयले पुनर्वास नगरपालिकालाई लेखेको पत्र :


मितिः २०८१/०५/०४
पत्र संख्याः २०८१/०८२
चलानी नम्बर १२३

श्री पुनर्वास नगरपालिका,
नगर कार्यपालिकाको कार्यालय, कञ्चनपुर ।

विषयः– कामकाजमा सम्बन्धमा ।

प्रस्तुत विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार, काठमाडौंको च.नं. १२९. मिति २०८१/०५/०२ को पत्रानुसार पदाधिकार रहेकै निकाय (पुनर्वास नगरपालिका) बाट नै तलबभत्ता पाउने गरी तहाँ कार्यालयमा कार्यरत अधिकृत छैटौँ श्री शंकर बोगटी (क.सं.नं. २३७५४०) लाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका माननीय मन्त्रीज्यूको निजी सचिवालयमा कामकाजमा खटाइएको व्यहोराको जानकारी पत्र यसैसाथ संलग्न राखी आवश्यक कार्यार्थ तहाँ पठाइएको व्यहोरा आदेशानुसार अनुरोध छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update