Odapalika - The Fourth Estate - चौथो अंग
अमेरिका हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र, शरणार्थीको रुपमा नराख्ने ब्राजिलको निर्णय 

काठमाडौँ । अवैधरुपमा अमेरिका जान हिँडेका १७६ जना नेपाली ब्राजिलमा अलपत्र परेका छन् । मंगलबार ब्राजिलस्थित नेपाली दूतावासले दिएको जानकारीअनुसार अवैध रुपमा ब्राजिल हुँदै अमेरिका जान लागेका ७०० जनामध्ये १७६ जना नेपाली रहेका र उनीहरु विमानस्थलमा रहेका जनाएको छ । 

ब्राजिलको साउपाउलो बिमानास्थलको ट्रान्जिट इलाकामा नेपालीसहित करिब ७०० विदेशीहरू अलपत्र परेका छन् । यसप्रति दूतावासले आफ्नो  ध्यानाकर्षण भएको जनाएको छ । 

अलपत्र परेका नेपाली सकुशल रहेको भन्दै दूतावासले जारी गरेको प्रेस नोटमा लेखिएको छ, ‘ट्रान्जिटमा रहेका सबै १७६ जना नेपाली नागरिकहरु सकुशल रहेका छन् र आवश्यकता अनुसार निजहरुलाई मानवीय सहायता पुर्याउन दूतावास तयारी अवस्थामा रहेको छ ।

दक्षिण अमेरिकाका ब्राजिल लगायतका मुलुक हुँदै अवैध रुपमा अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकहरुमा आउने प्रवृत्ति बढ्दो रहेको भन्दै दूतावासले संगठित रुपमा सञ्चालित मानव तस्करहरुको प्रलोभन र उक्साहटमा परी नेपालबाट समेत युवाहरु यस क्षेत्रमा आउने गरेको जनाएको छ । अवैध रुपमा अमेरिका जान खोज्दा कयौँले अकल्पनीय पीडा व्यहोर्नुका साथै ठूलो धनराशी खर्च गर्नुपर्ने परिस्थितमा फस्न पुगेको भन्दै दूतावासले सचेत गराएको छ । 

साथै, ब्राजिलले अब तत्काल लागू हुने गरी नेपाललगायत केही देशका राहदानीबाहकलाई प्रवेशाज्ञा लिएको भएमा मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको छ । अबदेखि नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने र त्यसरी नगएमा सोही विमानमार्फत् फिर्ता पठाइने निर्णय गरेको ब्राजिलले तर, विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइएको दूतावासको प्रेस नोटमा उल्लेख छ ।

नेपाली दूतावासको प्रेस नोट 

ब्राजिल ट्रान्जिट हुँदै तेश्रो मुलुक जान चाहने नेपाली यात्रीका लागि नयाँ नियम सम्बन्धमा

हालै ब्राजिलको साउपाउलो बिमानास्थलको ट्रान्जिट इलाकामा नेपाली सहित करिब ७०० विदेशीहरू रोकिएको भन्ने समाचार प्रति यस दूतावासको ध्यानाकर्षण भएको छ । ट्रान्जिटमा रहेका सबै १७६ जना नेपाली नागरिकहरु सकुशल रहेका छन् र आवश्यकता अनुसार निजहरुलाई मानवीय सहायता पुर्याउन दूतावास तयारी अवस्थामा रहेको छ ।

दक्षिण अमेरिकाका ब्राजिल लगायतका मुलुक हुँदै अवैध रुपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्ने उद्देस्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकहरुमा आउने प्रवृत्ति बढ्दो छ । संगठित रुपमा संचालित मानव तस्करहरुको प्रलोभन र उक्साहटमा परी नेपालबाट समेत युवाहरु यस क्षेत्रमा आउने गरेको जानकारी बेलाबेलामा हुने गरेको छ । कयौँले अकल्पनीय पीडा व्यहोर्नुका साथै ठूलो धनराशी खर्च गर्नुपर्ने परिस्थितमा फस्न पुगेको पाइएको छ ।

यसै बीच ब्राजिल सरकारले तत्काल लागू हुने गरी नेपाल लगायत केही देशका राहदानीबाहकलाई प्रवेशाज्ञा लिएको भएमा मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको छ । अब उप्रान्त नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तब्य मुलुकतर्फ उड्न पाउने, र त्यसरी नगएमा सोही विमानमार्फत् फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइएको छ ।

मानव तस्करहरुको संजाल प्रयोग गरी गरिने यस प्रकारको यात्रा अवैध, जोखिमपूर्ण र अनिश्चित हुने समेत सन्दर्भमा जायज कारण भएमा सो पुष्टि गर्ने कागजात र प्रवेशाज्ञा लिई मात्र ब्राजिल वा ब्राजिल हुँदै अन्य मुलुकको भ्रमणमा निस्कनुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।

नेपाली राजदूतावास,  

ब्राजिलिया, २७ अगस्त २०२४  
 

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १९:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update