Odapalika - The Fourth Estate - चौथो अंग
धुलिखेल बन्यो एसियाकै दोस्रो स्वस्थ सहर 

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठनले काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेललाई ‘नेपालको पहिलो स्वस्थ सहर’ घोषणा गरेको छ । सङ्गठनले तोकेका मापदण्ड पूरा गरेको धुलिखेल एसियाको दोस्रो स्वस्थ सहर भएसँगै पाँच हजार डलर पुरस्कार प्राप्त गर्न पनि सफल भएको छ ।    

सङ्गठनका प्रमुख डा सुभाजी गुडले मङ्गलबार नेपालको पहिलो स्वस्थ सहर र एसियाको दोस्रो स्वस्थ सहर भएको घोषणा गरे । घोषणासँगै धुलिखेललाई नेपालको पहिलो स्वस्थ सहर भएकामा पाँच हजार डलर पुरस्कार घोषणा भएको थियो । एसियामा पहिलो स्वस्थ सहर भारतको पुणे नगर बन्दा र ६५ दशमलव ४८ अङ्क प्राप्त गरी धुलिखेल दोस्रो स्थानमा रहेको घोषणा भएको हो ।

एसियाको दोस्रो र नेपालको पहिलो स्वस्थ सहर घोषणा भएको तथा पाँच हजार डलर पुरस्कार प्राप्त भएको dhullikhel-1724808863.jpgधुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जूले बताए  । सङ्गठनको मापदण्ड पूरा गरेर स्वास्थ्य क्षेत्रको नीतिगत सुधार, स्वास्थ्य क्षेत्रको दिगो विकास लक्ष्य, वातावरणीय सुधार, गरिब नागरिकको स्वास्थ्यमा पहुँच, दीर्घरोग र सरुवा रोग अनि सामुदायिक स्वास्थ्यमा सुधार ल्याउनुका साथै स्थानीय सरकारको प्राथमिक स्वास्थ्योपचारमा गरेको प्रगतिलाई आधार मानेर सो घोषणा गरिएको जनाइएको छ । 

धुलिखेल नगरले आगामी दिनमा पनि सङ्गठनमार्फत सर्ने र नसर्ने रोग, ज्येष्ठ नागरिक स्वास्थ्य, दलित र गरिब जनसमुदायको स्वास्थ्यमा दिगो विकासको स्वास्थ्य अनि सहरी स्वास्थ्य सुशासनमा काम गर्ने ब्याञ्जूले बताए ।

नगरले अपाङ्गता क्षेत्र, स्वच्छ खानेपानी, वातावरणीय प्रभाव न्यूनीकरण खोप, सामुदायिक स्वास्थ्य तथा डिजिटल स्वास्थ्य अभिलेख तयार गरी काम गर्दै आएको थियो ।

पर्यटकीय धुलिखेल नगर हाल ‘आरोग्य सहर’ अभियानमै छ । धुलिखेलले सहस्राब्दी दिगो विकास लक्ष्य (एसडिजी)अन्तर्गतका १७ मध्ये शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानी चार लक्ष्य पूरा गरेपछि स्वास्थ्यमा क्षेत्रमा फड्को मारेको हो । नगरले ती चार लक्ष्यको प्रतिवेदन गत अक्टोबर पहिलो साता थाइल्याण्डस्थित संयुक्त राष्ट्रसङ्घमा पेश गरेको थियो । 

नगरले हाल १२ वडामा १५ स्वास्थ्य केन्द्र स्थापना गरिसकेको छभने सबै नागरिकलाई स्वस्थ बनाई आरोग्यता प्रदान गर्न स्वास्थ्यकर्मीलाई घरदैलो पुर्याउने कामसमेत सकेको जनाएको छ । 

नागरिकको अवस्था के छ, के–कस्तो उपचार आवश्यक छ पत्ता लगाउन नगरले सर्वेक्षण गरेको हो । केन्द्रमा निःशुल्क उपलब्ध गराइने ६५ थरिका औषधि पर्याप्त बनाइएको छ । नगरले हाल ‘हाइपरटेन्सन, मधुमेह र मानसिक स्वास्थ्य’ कार्यक्रमलाई केन्द्र तथा निरन्तरका शिविरमार्फत प्राथमिकताका साथ अघि सारिएको छ ।

 
 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  ०७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update