Odapalika - The Fourth Estate - चौथो अंग
निजामती कर्मचारीलाई जापानले ४२ करोड रुपैयाँ बराबरको छात्रवृत्ति दिने 

काठमाडौँ । निजामती सेवाका कर्मचारीलाई जापानीज विश्वविद्यालयमा उच्चशिक्षा अध्ययन गर्न करिब ४५ करोड ४० लाख जापानी येन छात्रवृत्ति दिने भएको छ । यो भनेको अनुमानित ४२ करोड २३ लाख रुपैयाँ बरावर हो ।

अर्थ मन्त्रालयमा आज सोसम्बन्धी सम्झौतापत्रमा अर्थसचिव डा रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत किकुता युताकाले नोट आदानप्रदान गरेका छन् । 

सो अवसरमा अर्थमन्त्रालयका सहसचिव एवं अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखाका प्रमुख धनीराम शर्मा र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालका प्रमुख प्रतिनिधि मात्सुजाकी मिजुकीले अनुदान सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर गरे । 

सम्झौतासँगै नेपालका युवा निजामती सेवाका कर्मचारीलाई जापानको विश्वविद्यालयमा दुईवर्षे स्नातकोत्तर र तीनवर्षे विद्यावारिधि अध्ययन गर्नका निम्ति छात्रवृत्ति सहयोग प्राप्त हुनेछ । 

‘मेरिट’का आधारमा निजामती सेवाका कर्मचारीमध्येबाट इच्छुक कर्मचारी अध्ययनका लागि जापान जानेछन् । यस वर्ष २० जना स्नातकोत्तर र दुईजना विद्यावारिधि गरी २२ कर्मचारीलाई छात्रवृत्ति प्रदान गरिने सो अवसरमा जानकारी दिइयो ।  

जापान सरकारको सहयोगमा त्यहाँका मानव संसाधन विकास छात्रवृत्र् िकार्यक्रम (जेडिएस)अनुसार सन् २०१६ देखि नेपालले यो अवसर पाइरहेको छ । हालसम्म १८७ निजामती सेवाका अधिकारीले छात्रवृत्ति पाइसकेका छन् । 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update