Odapalika - The Fourth Estate - चौथो अंग
विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिने बुटवल उपमहानगर, एडीबी र व्यवसायीबीच सहमति

रुपन्देही । जलवायु परिवर्तन, पेट्रोलियम पदार्थको सीमितता र बढ्दो वायु प्रदुषणका कारण विद्युतीय सवारीको प्रयोग बढ्दो छ । सहरलाई प्रदुषणमुक्त बनाउन वातावरणमैत्री सवारीसाधन सञ्चालनका लागि बुटवल उपमहानगरपालिका, एसियाली विकास बैक एडीबी र स्थानीय व्यवसायीहरुका बीचमा छलफल भएको छ । बुधबार बुटवल उपमहानगरपालिकामा भएको छलफलमा तीन पक्षले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिँदै जानेमा सहमति जनाएका छन् ।

सहरी क्षेत्रको वातावरणीय प्रदुषण कमगर्न र मागभन्दा बढी हुने विद्युत् खपत बढाउनका लागि विद्युतीय सवारीको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बहस चलिरहेको बेला बुटवलमा यसको पहल थालिएको हो । विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकता दिने गरी बुटवल उपमहानगरपालिका, एडीबी र व्यवसायीहरुका बीचमा साझेदारी गर्ने गरी पहिलो चरणको छलफल सकिएको छ ।

छलफलले विद्युतीय सवारी सञ्चालनका मोडलहरू, व्यवसायीलाई दिन सकिने सहुलियत र चार्जिङ तथा मर्मत स्टेशनहरुका बारेमा एकमत व्यक्त गर्दै थप अध्ययनपछि दोस्रो चरणको छलफल गर्ने निष्कर्ष निकालेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।

उनका अनुसार देशमै सबैभन्दा धेरै सवारी साधन भएकोमध्येको सहर बुटवलबाट यसको सुरुवात गर्ने गरी एडीबीले निश्चित लगानीमा बुटवल उपमहानगरपालिकाले प्रोत्साहन गर्ने र व्यवसायीहरुले लगानी गरेर विद्युतीय सवारी सञ्चालन गर्ने खालको मोडलमा जान सकिने उनले बताए । बुटवलबाट छुट्ने सवारीहरुलाई पर्यटकीय स्थलहरुमा पु¥याउने र नियमित सवारी सञ्चालनलाई थप व्यवस्थित गर्ने गरी कुराकानी भएको प्रमुख पाण्डेयले बताए ।

छलफलमा सहभागी एडीबीका नेपाल आवासीय मिसनका लिडर अरुण रामामुर्तिले धेरै सवारीको चाप भएको बुटवलबाट विद्युतीय सवारी साधन सञ्चालन गर्ने गरी बुटवल उपमहानगरपालिका र स्थानीय व्यवसायीहरुसँगको छलफल सकारात्मक भएको बताए । उनले एडीबीले निश्चित लगानी गरेर यसमा प्रोत्साहन गर्न खोजिरहेको बताए । विद्युतीय सवारीहरुको उपयोग विश्वव्यापी रुपमा बढ्दै गएको भन्दै उनले वातावरणमैत्री भएकाले पनि यसको उपयोगमा चासो बढिरहेको बताए ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका प्रबन्ध सञ्चालक रामचन्द्र भुसालले पूराना गाडी विस्थापित गरेर नयाँ गाडी ल्याउँदा विद्युतीय सवारी ल्याउने र यसमा एडीबी र बुटवल उपमहानगरपालिकाको समेत साथ रहने कुरा सकारात्मक रहेको बताए । उनले एडीबी र बुटवल उपमहानगरपालिकाको योजनामा सहभागी हुन इच्छुक रहेको बताए ।

छलफलमा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल, एडीबीका सिनियर प्रोजेक्ट अफिसर हेमन्त तिवारी, एडीबीका प्रतिनिधिहरु ग्लोरिया गेरिल्ला टेकनोमो, ओली नोरोजोनो, गुरुदत्त अधिकारी, रोम भट्टराईलगायत सहभागी थिए ।
 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १६:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update