Odapalika - The Fourth Estate - चौथो अंग
इलाम नगरपालिकाको सामुदायिक वन अध्यक्षविरुद्ध ३९ लाख ३४ हजारको भ्रष्टाचारको मुद्दा  

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको इलाम नगरपालिका–११ स्थित माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष डोलबहादुर कार्कीसहित दुईजनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । 

माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष डोलबहादुर कार्की र कोषाध्यक्ष रीता सम्बहाम्फे लोक्तामविरुद्ध बुधबार सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनका अनुसार कार्कीविरुद्ध ३९ लाख ३४ हजार १०४ रुपयाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । 

२०७० सालदेखि ठेकेदार र अध्यक्ष समेत रहेका कार्कीले समूहको निर्णय पुस्तिका तथा चेक बुक लगायतका कागजातहरू आफैँले राख्ने गरेको, वन उपभोक्ता समूहको नाममा रहेको बैंक खाताबाट रकम भुक्तानी लिई समूहको रकम ३० लाख ७८ हजार रुपैयाँ वार्षिक कार्ययोजना स्वीकृत नगरी बदनियतपूर्वक खर्च गरी रकम हिनामिना गरेको र कटान आदेशभन्दा बढी आठ लाख ५५ हजार ५०४ को वन विनाश गरेको पुष्टि भएको अख्तियारको दाबी छ । 

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुरमा अध्यक्ष कार्कीविरुद्ध ३९ लाख ३४ हजार १०४ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको छ । 

यसैगरी, समितिको कोषाध्यक्ष रिता सम्बहाम्फे लोक्तामको संयुक्त दस्तखतमा खाता सञ्चालन भएको र उनले चेकमा हस्ताक्षर गरेको खुल्न आएकोले उनीविरुद्ध ३० लाख ७८ हजार ६०० रुपैयाँ बिगो रकम कायम गरी जरिबाना एवं असुल उपर हुन मागदाबी लिई मुद्दा दर्ता गरिएको प्रवक्ता घिमिरेले बताए । 
 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update