Odapalika - The Fourth Estate - चौथो अंग
सुस्ता गाउँपालिकाको छलाङः पुँजीगत खर्च धेरै र चालु खर्च कम गर्नेमा जिल्लामै सबैभन्दा अब्बल

काठमाडौँ । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका पुँजीगत खर्च बढी गर्ने र चालु खर्च कम गर्नेमा जिल्लामै अब्बल गाउँपालिका बनेको छ ।

गत भदौ ६ गते जिल्ला  समन्वय समिति नवलपरासी पश्चिमले  गरेको जिल्लाभरका स्थानीय तह  तथा सरकारी  कार्यालयको वार्सिक  समीक्षा कार्यक्रममा प्रस्तुत तथ्यांकमा सो जिल्ला सबैभन्दा बढी पुँजीगत बजेट खर्च गर्ने र चालु खर्च कम गर्ने स्थानीय तह भएको देखिएको हो ।

कुनै पनि तहका सरकारले पुँजीगत बजेट धेरै खर्च गर्नु र चालु खर्च कम गर्नु राम्रो मानिन्छ ।

सुस्ता गाउँपालिका स्थापना भएयता सबैभन्दा बढी पुँजीगत खर्च गरेको नै गत आर्थिक वर्षमा नै हो । यसअघि कुनै आर्थिक वर्षमा ६५ प्रतिशतभन्दा बढी खर्च हुन नसकेकोमा गत आर्थिक वर्षमा ८७.१५ प्रतिशत पुँजीगत बजेट खर्च भएको छ । यस्तै अहिलेसम्म सबैभन्दा बढी कुल खर्च ६७ प्रतिशत मात्रै भएकोमा गत आर्थिक वर्षमा सुस्ता गाउँपालिकाले ८३ प्रतिशत बजेट खर्च गरेको छ ।

सुस्तापछि सबैभन्दा बढी पुँजीगत खर्च गर्ने पालिकाले जम्मा ७३ प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ ।

चालु खर्चमा भने सुस्ता गाउँपालिका निकै मितव्ययी देखिएको छ । गत आर्थिक वर्षमा सो गाउँपालिकाले विनियोजित बजेटको ७९ प्रतिशत मात्रै खर्च गरेको छ । सुस्ताले गरेको यो खर्च जिल्लाका अन्य पालिकाहरुको तुलनामा सबैभन्दा कम हो ।

राजस्व संकलनमा पनि सुस्ता गाउँपालिकाले वार्षिक लक्ष्यभन्दा निकै बढी प्रगति हासिल गरेको छ । गत आर्थिक वर्षमा सुस्ता गाउँपालिकाले १ करोड ५५ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ४ करोड ७७ लाख ररुपैयाँ राजस्व संकलन गरेको छ ।

सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसाल समन्वयकारी प्रक्रिया अबम्लन गरिएको बताउँछन् । गाउँपालिकाका सरोकारवाला सबैसँग समन्वय गरेर अघि बढेका कारण वित्तीय प्रगति राम्रो भएको उनको भनाइ छ ।

‘हामीले कात्तिकसम्ममा ठेक्काको प्रक्रिया पूरा गरेका थियौं । पुसमा भएको हिउदे अधिवेशनमा योजनाहरु केही संशोधन भए । ती योजनाको ठेक्का पनि तत्कालै लगायौं । सबै शाखा, उपभोक्ता समितिहरु तथा अन्य सरोकारवालाहरुसँग नियमित सम्वाद, समन्वय र सहजीकरण गरियो । हामीलाई प्राप्त भएको वित्तीय प्रगति यसैको कारण होला भन्ने लाग्छ,’ प्रमुख प्रशासकीय अधिकृत भुसालले वडापालिकासँग भने ।

प्रमुख प्रशासकीय अधिकृत भुसाल गत आर्थिक वर्षको असोज मसान्तमा सो गाउँपालिका गएका थिए । उनी सरुवा भएर जादा सो गाउँपालिकाले बजेट बनाइसकेको थियो । तर, उनले सबै शाखाहरुलाई योजना बनाउन लगाएर त्यसको प्रभावकारी कार्यान्वयन गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत भुसाल सुस्ता गाउँपालिका जानुअघि अर्घाखाँचीको पाणिनी गाउँपालिकामा थिए । उनी प्रमुख प्रशासकीय अधिकृत भएको समयमा पाणिनी गाउँपालिकाले पनि सबैभन्दा बढी अर्थात ८५ प्रतिशत पुँजीगत बजेट खर्च गरेको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update